PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

बजार बढाउँदै साउथ इन्डियन फिल्म, चिरञ्जीवीको फिल्मले राख्यो रेकर्ड



पहिलोपोस्ट

बजार बढाउँदै साउथ इन्डियन फिल्म, चिरञ्जीवीको फिल्मले राख्यो रेकर्ड

बलिउड बक्सअफिसमा सन् २०१६ को अन्तिममा प्रदर्शनमा आएको फिल्म 'दंगल'ले सर्वाधिक ३ सय ८० करोड कमाएको रेकर्ड राखेको छ। दंगलको ग्रस कलेक्शन रेकर्डको चर्चा कम हुन नपाउँदै फिल्म 'कैदी नम्बर १५०'ले टलिउड नयाँ रेकर्ड बनायो।
 
साउथ इन्डियन एक्शन स्टार चिरञ्जीवीको कमब्याक फिल्म कैदी नम्बर १५० ले सबैभन्दा थोरै समयमा सर्वाधिक ग्रस कलेक्शन गर्ने फिल्मको रेकर्ड बनाएको हो। फिल्मले एक हप्ता पूरा नहुँदै भारतमा मात्र एक सय ५० करोडको व्यवसाय गरेको फर्स्टपोस्टले जनाएको छ। यसअघि सर्वाधिक कमाएको फिल्म बाहुबलीले भन्दा छोटो समयमा फिल्मले नयाँ ग्रस कलेक्शन रेकर्ड राख्यो।
 
सन् २०१६ मा साउथ फिल्म स्टार रजनिकान्तको फिल्म 'कबाली'ले एक सातामा  विश्वभरबाट २ सय करोडको व्यवसाय गरेको थियो। समीक्षात्मक रुपमा फिल्म औसत बताइए पनि निर्देशक कलाइपुली थानुले फिल्मले निकै फाइदा कमाएको बताएका थिए। 
 
सय करोड क्लबमा नाम लेखाउने अर्को तामिल फिल्म हो 'थेरी'। तामिल स्टार विजय अभिनित 'वैरावा'ले पनि चार दिनमा संसारभरबाट एक करोडको माइलस्टोन पूरा गरेको विजय प्रोडक्शनले जनाएको थियो।
 
अभिनेता मोहनलालले त आफ्नो फिल्म 'पुलिमुरुगन'ले मलायालाम फिल्मको इतिहासमै पहिलो पटक सय करोडको व्यापार गरेकोमा आफू खुसी भएको जनाउँदै ट्विट गरेका थिए।
 
एसएस राजामौलीको फिल्म 'बाहुबली'ले साउथ इन्डियन फिल्मको विश्व बजारीकरणमा निकै ठूलो योगदान पुर्‍याएको टाइम्स अफ इन्डियाले जनाएको छ। फिल्मले विश्वभरबाट ६ सय करोडको ग्रस कलेक्शन गरेको हो।
 
साउथ इन्डियन फिल्मका लागि आन्ध्रा, तेलांगाना, तामिलनाडुमा नर्थ इन्डियन फिल्मका लागि भन्दा बढी फिल्म हल रहेको छ। भारतको सञ्चालनमा रहेको हलको ५५ प्रतिशत साउथ इन्डियाको प्रदेशहरुमा रहेको जनाइएको छ। जसको असर फिल्म निर्माण र फिल्म व्यवसायमा पर्छ। केही समययता साउथ इन्डियामा मल्टिपल स्क्रिनिङको ट्रेन्ड पनि बढ्दो छ।
 
विश्वमा साउथ इन्डियन फिल्मको दर्शक बढ्नुमा सामाजिक सञ्जालहरुको प्रभाव रहेको पनि बताइन्छ। ट्रेड एक्सपर्टले यो वर्ष टलिउडमा अझै व्यावसायिक विकास हुने विश्वास राखेका छन्। अमाजोन, नेटफिल्क्सजस्ता कम्पनीले साउथ फिल्महरुको डिजिटल राइट्स खरिद गर्नुले पनि फिल्म बजारमा असर गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell