PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

सवारीसाधनको आयात बढेपछि चालु आर्थिक वर्षको ६ महिनामै भन्सार असुलीको लक्ष्य पूरा



उमेश पौडेल

सवारीसाधनको आयात बढेपछि चालु आर्थिक वर्षको ६ महिनामै भन्सार असुलीको लक्ष्य पूरा

काठमाडौं : चालू आर्थिक वर्षको ६ महिनामा राखेको भन्सार असुलीको लक्ष्य सवारी साधनको आयात बढ्दा पूरा भएको छ। भन्सार विभागले यो अवधिमा १९ अर्ब ६८ करोड भन्सार असुलीको लक्ष्य राखेकोमा २० अर्ब २१ करोड राजस्व उठेको छ।
 
विभागले राखेको लक्ष्यभन्दा २ दशमलव ७ प्रतिशतले बढी राजस्व उठाउन सफल भएको छ। यो राजस्व असुलीमा सवारी साधनको हिस्सा ३७ प्रतिशत छ। विभागका अनुसार पेट्रोलियम पदार्थको १० प्रतिशत, आइरन र स्टिलको ६ प्रतिशत, इलेक्ट्रोनिक्स सामाग्रीको ५ प्रतिशत, सिमेन्टमा प्रयोग हुने क्लिङ्करको ४ प्रतिशत, प्लास्टिकका सामग्रीको ४ प्रतिशत, मेसिनरी सामग्रीको ३ प्रतिशत र वेभरेजको २ प्रतिशत राजस्वको हिस्सा छ।
 
नेपालमा मुख्य आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ हो। यो अवधिमा ५७ अर्ब १३ करोड रुपैयाँ बराबरको आयात भएको छ। यो वस्तुबाट मात्रै १४ अर्ब २ करोड रुपैयाँ राजस्व संकलन भएको छ। सवारी साधनमा ४६ अर्ब ६० करोडको आयात हुँदा ४५ अर्ब ४१ करोड रुपैयाँ राजस्व संकलन भएको छ।
 
विभागका अनुसार आइरन एण्ड स्टिल ४५ अर्ब ६७ करोड रुपैयाँ बराबरको आयात भएको छ भने त्यसवाट ८ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन भएको छ। यो अवधिमा सबैभन्दा धेरै कार्पेटको निर्यात गरेको छ। निर्यातमध्ये कार्पेट ३ अर्ब ९२ करोड रुपैयाँ, चिया र कफी ३ अर्ब ६४ करोड रुपैयाँ, लत्ताकपडा ३ अर्ब २६ करोड रुपैयाँ, स्टेपल फाइबर २ अर्ब ९५ करोड रुपैयाँ र भेजिटेवल तथा फ्रुट्सहरु २ अर्ब ३७ करोड रुपैयाँ मूल्य बराबरको निर्यात गरेको भन्सार विभागले जनाएको छ।
 
भन्सार असुलीमा वीरगञ्ज नै अग्रपंक्तिमा आएको छ। भारतले लगाएको नाकाबन्दीपछि वीरगन्ज नाकाबाट सामान ल्याउन कम भएर भैरहवा भन्सारले जितेको थियो। तर बिस्तारै वीरगन्ज भन्सारले लय समातेर भन्सार असुलीमा पहिलो बनेको हो।
 
सबैभन्दा धेरै राजस्व असुल गर्ने नाकामा वीरगन्ज भन्सार छ। वीरगन्ज भन्सारले चालू आवको ६ महिनामा ८ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन गरेको छ। दोस्रो नम्बरमा भैरहवा भन्सार रहेको छ। भैरहवावाट ४ अर्ब ५२ करोड रुपैयाँ, विराटनगरवाट २ अर्ब ६ करोड रुपैयाँ, त्रिवि विमानस्थलबाट १ अर्ब ८ करोड रुपैयाँ र वीरगन्जको सुक्खा बन्दरगाहवाट १ अर्ब ६२ करोड रुपैयाँ राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ।
 
चालू आवको ६ महिनाभित्र कुल ४ खर्ब २७ अर्ब ५३ करोड रुपैयाँ बराबरको आयात भएको छ। अघिल्लो वर्षको यही अवधिमा २ खर्ब ७७ अर्ब ५७ करोड रुपैयाँ बराबरको आयात भएको थियो। गत वर्षको यो अवधिमा भारतले नाकाबन्दीका कारण सामान आयात कम भएको थियो।
 
यो अवधिमा ३६ अर्ब २० करोड रुपैयाँ बराबरको सामग्री निर्यात भएको छ। अघिल्लो वर्ष ३१ अर्ब ५० करोड रुपैयाँ बराबरको सामग्री निर्यात भएको थियो। यो अघिल्लो वर्षको तुलनामा १४ दशमलव ८९ प्रतिशतले धेरै हो। देशको कुल व्यापारमा आयात ९२ दशमलव ८ प्रतिशत र निर्यात ७ दशमलव २ प्रतिशत रहेको छ। त्यसैले व्यापार घाटा भने बढेर ३ खर्ब ५२ अर्ब पुगेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell