PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मधेस-पहाडको दुरी बढाएर एमालेले अस्थिरता निम्त्याइरहेको छ : निधि



रासस

मधेस-पहाडको दुरी बढाएर एमालेले अस्थिरता निम्त्याइरहेको छ : निधि

फलेवास (पर्वत) : उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो लोकप्रियता बढाउनका लागि एमालेले राष्ट्रियताका विषयमा भ्रम फैलाएको आरोप लगाएका छन्।

पर्वतको कुश्मास्थित सहिदस्मारक आवासीय माध्यामिक विद्यालयमा आज आयोजित रजतजयन्ती समारोहमा उनले भने 'एमालेले सङ्घीयता नचाहेकाले अनावश्यक भ्रम फैलाउने काम गरेको छ।'

उपप्रधानमन्त्री निधिले मधेसलाई अर्को देशको देख्ने र हिमाल पहाडको दुरी बढाएर मुलुकमा अस्थिरता ल्याउने काम एमालेले गर्न खोजेको बताउँदै मधेसीले उठाएका जायज मागसमेत एमालेले पूरा गर्न नखोजेको धारणा व्यक्त गरे।

'संविधानको पूर्ण कार्यान्वयनका लागि मुलुकमा निर्वाचन गर्नुपर्ने अहिलेको प्रमुख राष्ट्रिय आवश्यकता हो', उनले भने, 'निर्वाचन गराउनका लागि भए पनि संविधान संशोधनमा सघाउन एमालेलाई आग्रह गर्छु।'

नेपाली काङ्ग्रेसका नेतासमेत रहेका उपप्रधानमन्त्री निधिले ‘संविधान संशोधनका लागि एमालेले पछिल्लो समयमा देखाएको लचकता सकारात्मक भएको बताउँदै संविधान कार्यान्वयनका लागि आगामी २०७४ माघ ७ गतेभित्र तिनै तहको निर्वाचन सक्नुपर्ने भएकाले सोहीअनुरुप लाग्न कार्यकर्तालाई निर्देशन दिए।

संविधानको पूर्ण कार्यान्वयनका लागि आगामी एक वर्षभित्रमा सबै तहको निर्वाचन गर्ने तयारी सरकारको छ, उनले भने, 'निर्वाचनका लागि आवश्यक पर्ने कानुनको संशोधन गर्नुपर्ने भएकाले त्यससम्बन्धी विधेयक संसद्मा पेस गरिएको र केही दिनभित्रैमा त्यसले मूर्तरुप पाउनेछन्।'

उपप्रधानमन्त्री निधिले सबै तयारी सकेर सरकारले वैसा वा जेठको पहिलो सातामा नै चुनाव हुने मिति घोषणा गर्ने पनि बताए।

तत्कालीन नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायतले हस्ताक्षर गरेका विषय नै संशोधनका लागि दर्ता गरिएको बताउँदै उनले आफूले गर्दा राष्ट्रघात नहुने र आफू सरकारबाहिर रहेका बेला सत्ताधारी पार्टीले संशोधन दर्ता गराउँदा राष्ट्रघात भयो भन्नु जायज नभएको धारणा व्यक्त गरे।

उपप्रधानमन्त्री निधिले एमालेले अनावश्यक रुपमा संविधान संशोधनको विषयलाई उचालेको टिप्पणी गर्दै नागरिकता र भाषाका विषयमा पनि सहमतिमा संशोधनलाई परिमार्जन गर्न सकिने बताए।

यसअघि उनले धौलागिरिका एकमात्र सहिद गोविन्दनाथ शर्माको सालिकमा माल्यार्पण गरेका थिए। सो अवसरमा उनले मुलुकका निम्ति बलिदानी दिने सहिदलाई सधैँ राज्यले सम्मान गर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell