PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

राजन पटेलको हत्या अझै रहस्यमै, 'क्लु नै फेला पार्न नसकेको' प्रहरी दाबी



राधेश्याम पटेल

राजन पटेलको हत्या अझै रहस्यमै, 'क्लु नै फेला पार्न नसकेको' प्रहरी दाबी

वीरगन्ज : तीन महिनाअघि क्रुरतापूर्वक हत्या गरिएका बालक राजन पटेलको हत्यामा संलग्नहरु अझै पक्राउ परेका छैनन्।
 
राधेमाईस्थित ग्रेस इंग्लिस बोर्डिङ स्कुलमा कक्षा ३ मा पढ्दै गरेका वीरगन्ज– १७ राधेमाई बस्दै आएका ९ वर्षीय राजन असोज १९ गते बेपत्ता भएका थिए।
 
मेला हेर्न घरबाट निस्केका उनी राति अबेलासम्मस पनि घर नफर्किएपछि परिवारले स्थानीय प्रहरीलाई जानकारी गराएका थिए। बेलुका उनी कतै फेला परेनन्। आवास क्षेत्र नजिक शौच गर्न गएकाहरूले असोज २० गते वीरगञ्ज–१७ चिनीमिल आवास क्षेत्रमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
 
शव फेला परेको स्थानभन्दा ८० मिटर पूर्व उनले लगाउने गरेको चप्पल भेटिए पनि उनले लगाएको हाफपाइन्ट गायब थियो।
 
शरीरभरि चोट लागेको शवको प्रकृति हेर्दा कुटपिट गरी हत्या भएको पर्सा प्रहरीको भनाइ छ। उनको आँखा, पेट र हातमा धारिलो हतियारले प्रहार गरिएको थियो।
 
रामनगरी–८ मुल घर भई काका वृजकिशोर पटेलको घरमा बस्दै आएका राजनको हत्या किन र कसले गर्‍यो अहिलेसम्म प्रहरीले बताउन सकेको छैन। परिवारजनले पनि कसैमाथि शंका गरेका छैनन्।
 
राजनका बुवा विनोद आलुको व्यापारमा संलग्न छन्। राजनका काका वृजकिशोरका अनुसार दाइसँग कसैको रिसइबी थिएन। कसैले अपहरण गरेको भन्दै फिरौती मागेका थिएनन्।
 
आफन्तजन, इष्टमित्रहरुले दैनिक जसो आफूलाई भतिजको हत्या रहस्यबारे सोध्ने गरेको र आफू नाजवाफ हुने गरेको उनले बताए। आफू नियमितजसो प्रहरी कार्यालय गए पनि आश्वासन मात्रै दिने गरेको उनको गुनासो छ।
 
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले राजन हत्याको घटनामा दोषी पत्ता लगाउन प्रयास भइरहेको बताए। ‘घटनाको क्लुसम्म पुग्न सकेका छैनौं,’ उनले भने, ‘तैपनि अनुसन्धान जारी राखेका छौं।’ तस्विर सौजन्यः वृजकिशोर पटेल
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell