जाजरकोट : जाजरकोट ढिमे–२ मालुबेलामा डोल्पाका चार बालबालिका बिचल्लीमा परेका छन्।
डोल्पा फुलचिङ खदाङका बाबु बुद्धिबहादुर बुढाको हत्या भएको र आमा रतनकली कामीले दोस्रो विहे गरेर गएपछि उनीहरु बिचल्लीमा परेका हुन्।
अज्ञात व्यक्तिले छ वर्षअघि बाबुको हत्या गरेको र एक वर्षअघि आमा रतनकलीले डाँडागाउँ ७ चाउलेचौरमा विहे गरेर गएपछि चार वर्षीय अनिल, छ वर्षीय रेखा, आठ वर्षीय चन्द्रा र १० वर्षीय पार्वती बिचल्लीमा परेका हुन्।
द्वन्द्वकालमा (माओवादी) पार्टीका कार्यकर्ता हुँदा अन्तरजातीय विवाह गरेका उनीहरू– ९ वर्षदेखि ढिमेको मालुबेलामा बस्दै आएका थिए।
बाबुको हत्या भएको पाँच वर्षसम्म आमा रतनकलीले मजदूरी गरेरै छोराछोरीको लानपालन गरेको स्थानीय जगत मल्लले बताए।
जग्गा–जमिन, घरबास केही नहुँदा ३० वर्षीय रतनकलीले छोराछारीको लालनपालन गर्न नसक्ने अवस्था आएपछि दोस्रो विहे गर्न बाध्य भएको मल्लले बताए।
‘ती बालबालिकाका आफन्त छन् वा छैनन्, कसैले वास्ता गरेका छैनन,’ उनले भने, चारै भाइबहिनीलाई डोल्पा घर छ, छैन भन्ने पनि थाहा छैन ।’ उनीहरुका लागि प्रमुख समस्या भनेको नै गास, बास र कपासको हो, उनले भने– गाउँमा अर्काको गोठाला गरेर उनीहरू पेट पाल्न बाध्य भएका छन्।
गरिबीका कारण नाबालक नातिनातिनाको लालनपालन गर्न नसकेको ७० वर्षीय हजुरआमा देवी कामीले बताइन्। ‘मागेर कसरी लालनपालन गर्ने?’ उनले भनिन्, ‘कमाइ गर्ने कोही नहुँदा समस्या भएको छ। गोठाला गरेर गासबास र लत्ताकपडा जुटाउनुपरेको छ।
पठनपाठनको व्यवस्था मिलाउन सकिएको छैन।’ घरको आर्थिक अवस्था कमजोर रहेकाले समस्या भएको उनको भनाइ छ।रासस