युएईमा रहेको भारतीय दुतावासमा एक नेपाली युवतीको बलात्कारमा संलग्न भारतीय नागरिकलाई जोगाएको घटनामा भारतीय खुफिया एजेन्सी र का अधिकारीदेखी भारतका सुरक्षा सल्लाहकार अजितकुमार डोभालसम्म तानिएका छन्।
युएइमा रहेको भारतीय दुतावासको रिसेप्सनिष्टको रुपमा कार्यरत नेपाली युवती हिमानीलाई दुतावासको सुरक्षामा खटिएको प्राइभेट कम्पनीमा कार्यरत एक भारतीय युवकले बलात्कार गरेका थिए।
उनलाई कानुन अनुसार कारवाहीको प्रकृयामा ल्याउनुको साटो भारत भाग्न सघाउन युएईका लागि र का प्रमुख संलग्न रहेको दसिजेपोस्टले जनाएको छ।
पोस्टमा शनिवार प्रकाशित समाचार अनुसार युएई सरकारको गृहमन्त्रालयले यो विषयलाई गम्भिर रुपमा लिएपछि यसलाई मिलाउन भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार डोभल समेत सक्रिय भएका छन्।
सन् २०१६ जनवरी ११ मा सुरक्षा प्रमुखका रुपमा युएईमा रहेको भारतीय दुतावासमा कार्यरत अन्डरकभर र प्रतिनिधि पवनकुमार रायले बलात्कारमा संलग्नलाई युएईबाट भाग्न सघाएका हुन्।
युएईको गृह मन्त्रालयको अनुसन्धानमा नेपाली मुलकी युवतीको बलात्कारमा संलग्न देखिएका भारतीय नागरिक बैजनाथलाई भगाएका हुन्।
सुरक्षा प्रमुखको आवरणमा युएईमा रहेका पवनकुमारले भारतीय दुतावासको सुरक्षाका लागी सुरक्षा हेर्ने आबुधावीको नीजि कम्पनि स्पार्क सेक्युरिटी सर्भिसलाई ठेक्का दिएका थिए।
हिमानी नामकी नेपाली युवती रिसेप्सनिष्टमा नियुक्त भएकी थिइन्। दुतावासभित्रको सुरक्षामा खटिएका बैजनाथले दुतावास परिसरमै ती युवतीको बलात्कार गरेका थिए।
चोटपटक लागेको अवस्थामा ती युवतीले रायलाई भेटेर घटनाबारे जानकारी गराएकी थिइन्। तर उनले युवतीलाई वास्ता गरेनन्।
उनले बलत्कृत युवतीलाई सहयोग गर्नुको साटो अपराधमा संलग्न भारतीय नागरिकलाई भारत भाग्न सघाए। बलात्कारमा संलग्न भारतीय नागरिकलाई भारत भाग्न सघाएपछि उनले स्पार्कसँग भएको सम्झौता रद्ध गरेका थिए।
दुतावासका अधिकारीले सुनुवाई नगरेपछि हिमानीले युएई प्रहरीलाई घटनाबारे जानकारी गराइन्। कुटनितिक नियोगका अधिकारीको नाम आएपछि प्रहरीले घटनाबारे गृह मन्त्रालयलाई जानकारी गराएपछि मन्त्रालयले घटनामा उनको भुमिकाबारे जानकारी दिन रायलाई बोलाएको थियो।
उनले बलात्कारमा संलग्न भारतीय नागरिकलाई भारत भगाउन सघाएको हैन भन्ने पुष्टी गर्न नसकेपछि युएई सरकारले उनलाई ७२ घन्टाभित्र देश छाड्न आदेश दिएको थियो।
आदेश आएपछि युएईकालागी भारतीय राजदुत नवदिपसिंह सुरीले युएइको गृह र परराष्ट्र मन्त्रालयका अधिकारीसँग भेटेर रायलाई युएई छाड्न दिएको निर्देशन फिर्ता गर्न आफ्नो प्रभाव प्रयोग गरेको स्रोतलाई उल्लेख गर्दै पोस्टले लेखेको छ।
समाचारमा उल्लेख भए अनुसार भारतीय विदेश मन्त्रालय र राष्ट्रिय सुरक्षा सल्लाहकार डोभाल समेत घटना लुकाउन सक्रिय छन्। उनीहरुले युएई सरकारलाई रायविरुद्ध अनुशासन उलंघनमा कारवाही गर्ने भन्दै फकाइरहेका छन्।