PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

​प्रहरी र सरकारी वकिलको निश्कर्ष : मुद्दा फिर्ताले दण्डहीनता बढ्यो



पहिलोपोस्ट

काठमाडौं : अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन २६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। 

यही माघ १४ गतेदेखि सुरु भएको सम्मेलनको समापनका अवसरमा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले विज्ञान र प्रविधिको विकाससँगै अपराध अनुसन्धानमा पनि जटिलता थपिएको हुँदा रोकथामका लागि प्रयास हुनुपर्ने बताए। 

उनले अनुसन्धान गर्ने प्रहरी र अभियोजन गर्ने सरकारी वकिलको क्षमता विकास र नयाँ प्रविधिको विकास गर्नका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। 

गृहमन्त्री निधिले विधिको शासन कायम गर्नका लागि संविधान कार्यान्वयनमा सबैले ध्यान दिनुपर्नेमा जोड दिँदै हिमाल, पहाड तराईका सबै मानिसले संविधानप्रति अपनत्व महसुस गर्न आग्रह गरे। 

उनले तीनै निकायको निर्वाचन गर्न आवश्यक भएकाले निर्वाचनका लागि सबै तयार हुनुपर्ने जरुरी भएको समेत बताए। 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले अनुसन्धानमा अनुसन्धान गर्ने प्रहरी र अभियोजन गर्ने सरकारी वकिलबीच समन्वयन हुनुपर्नेमा जोड दिए। 

नयाँ प्रविधिको विकाससँगै अपराध पनि नयाँ देखिँदै गएको हुँदा सत्यलाई न्यूनीकरण गर्नका लागि अपराधसंहिता निर्माण अन्तिम चरणमा पुगेको जानकारी मन्त्री नायकले दिए। 

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश गोपाल पराजुलीले सुशासनका लागि विधिको शासन, नियम कानुनको पालना इमान्दारीपूर्वक गर्नुपर्ने बताए। महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले सरकारवादी मुद्दा हार्दा सरकारी वकिल र अनुसन्धान गर्ने प्रहरी दुवैको हार हुने मात्र नभई राज्यको समेत हार हुने भएकाले गम्भीरतापर्वूक ध्यान दिनुपर्ने आवश्यकता रहेकाे बताए।

नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी र वकिल ज्यादा नजिकभन्दा पनि व्यावसायिकतालाई ध्यान दिएर भयरहित, शान्ति र न्यायका लागि काम गर्नुपर्ने धारणा राखे। 

नेपाल बार एसोसिएसनका महासचिव खम्मबहादुर खातीले अनुसन्धान गर्ने प्रहरी, अभियोजन गर्ने सरकारी वकिलसँग बार सहकार्य गरेर जान तयार रहेको उल्लेख गरे। 

सम्मेलनले अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको बृहत् हकहित गर्ने उद्देश्यसहित २६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । 

घोषणापत्रमा अपराधीकरणलाई कानुन दायरामा ल्याउनुपर्ने, अपराधलाई राजनीतिकरण हुनबाट निरुसाहित गर्नुपर्ने, यातनालाई निरुसाहित गर्नुपर्ने, अपराधविरुद्ध सहज रुपमा काम गर्ने वातावरणको सिर्जना गर्नुपर्ने, बढ्दो विद्युतीय अपराधलाई न्यूनीकरण गर्नुपर्नेलगायत रहेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell