
काठमाडौं : व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ। आजको बैठकले निर्वाचन कसुर तथा सजाय निर्धारण सम्वन्धी विधेयक पारित गर्नेछ। संसदले यसअघि निर्वाचन आयोगको काम कर्तव्य र अधिकार सम्वन्धी विधेयक र मतदाता नामावली सम्वन्धी विधेयक पारित गरिसकेको छ।
सरकारका तर्फबाट उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले विधेयक संसद्मा पेश गर्ने सम्भावित कार्यसूची संसद सचिवालयले पेश गरेको छ।
राज्य व्यवस्था समितिको सोमवार बिहानको बैठकमा विचाराधीन विधेयकमा सहमति भए स्थानीय तह निर्वाचन सम्वन्धी विधेयक पनि संसद्मा समितिको प्रतिबेदनसहित पेश हुनेछ।
निर्वाचनका लागि आवश्यक नौमध्ये दुई कानुन पारित भएका हुन्। एक कानुन सामेवार पारित हुन लागेको हो। अन्य कानुनमध्ये तीनवटा राज्य व्यवस्था समितिमा विचाराधीन छन्। राजनीतिक दलसम्वन्धी कानुन र स्थानीय तह निर्वाचन सम्वन्धी विधेयक समितिमा विचाराधीन छन्।
निर्वाचन क्षेत्र निर्धारण आयोग गठन सम्वन्धी विधेयक, प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचन सम्वन्धी विधेयक सरकारले संसद्मा दर्ता गरेको छैन।
भाषा आयोग विधेयक पेश हुँदै
सरकारले कानुनी आधारबिना भाषा आयोग गठन गरेको तीन महिना पूरा भएको छ। कानुनी संरचना बिनै सरकारले भदौं २४ गते भाषा आयोग गठन गरेको थियो। आयोग गठन भएको लामो समयपछि सोमवार विधेयक संसदमा पेश हुन लागेको हो।सरकारका तर्फवाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले आयोग गठनसम्वन्धी विधेयक संसदमा पेश गर्नेछन्।
यस्तै, सोमवारकै बैठकमा बनमन्त्री शंकर भण्डारीले राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विधेयक छलफल र पारितको कार्यसूची रहेको छ।