काठमाडौं : दसौं एल्बमको दुई गीत युट्युब मार्फत सार्वजनिक गरिसकेको ‘नेपथ्य’ले तेस्रो गीत भने एकैपटक विभिन्न ‘म्युजिक स्टोर’हरुबाट डिजिटल रिलिज गरेको छ।
लोकरक ब्याण्ड ‘नेपथ्य’ले यसरी रिलिज गरेको गीत हो, ‘शिरफूल शिरैमा, वनफूल वनैमा, हिउँको फूल धौलासिरिमा।’
एउटा पर्यटकले पदयात्रा गर्दाको वर्णन समेटेको यो गीतमा मध्यपश्चिमको हिमाली–पहाडी स्वाद अटाएको छ। यात्री हुन्, नेपथ्यका मुख्य गायक एवं संकलक अमृत गुरुङ। झन्डै तीन वर्षअघि डोल्पा र रुकुमको सिमानातिर पर्ने फागुने लेक (कामीडाँडा) बाट यात्रा सुरुगरेका उनले याम्खार, मैकोट, हुकाम हुँदै उत्तरगंगाको किनारैकिनार बिर्गुन, तक्सेरा, डम्चन, ढोरपाटन छिचोल्दै जलजला नाघेर बेनी निस्केका थिए।
हरिया डाँडाहरुमा लछेप्रै रातो गुराँस फुलेको र माथिमाथि थुप्रिएका हिउँ हेर्दै यो यात्रा तय गरेका अमृतले बाटोमा गुनगुनाउँदा गुनगुनाउँदै लय र शब्दहरु भरिन आइपुगेको थियो। यसरी यो आफैँमा साँगीतिक यात्रा संस्मरण बन्न पुगेको छ।
‘वसन्त ऋतुमा यो भेग पैदल यात्रागर्ने पर्यटकहरुका निम्ति असाध्यै रमाइलो हुन्छ,’ सडक छेउछाउका पसल र यो दुर्गम भेगमा कठिन जीवनयापन गर्दै आएकाहरुबाट बास पाएका अमृत भन्छन्, ‘प्रकृतिको यति सुन्दर वरदान अन्त विरलै भेटिन्छ।’
यो गीतको गायकी त्यस भेगमा प्रचलित ‘शिरफूल भाका’मा आधारित छ। गीतको संक्षिप्त अंश-