PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

कविता चौतारीमा रानाहँछा र अकिञ्चन



पहिलोपोस्ट

कविता चौतारीमा रानाहँछा र अकिञ्चन

काठमाडौँ : राजधानी होस् या मोफसल। देश होस् या विदेश। कतै एकल, कतै युगल त कतै सामूहिक कविता वाचनका कार्यक्रम भइरहेका छन्।
 
यसै क्रममा पछिल्लो पटक ‘मिलाप’ मासिक पत्रिकाले नियमित कविता वाचन शृङ्खलाको आरम्भ गरेको छ– युवा कविद्वय उमेश अकिञ्चन र चन्द्र रानाहँछालाई प्रस्तुत गरेर।
 
ओझेलमा परेका स्रष्टालाई अवसर प्रदान गर्नुका साथै नेपाली कविताको समृद्धिमा योगदान पुर्‍याउने उद्देश्यसहित काठमाडौंको बागबजारस्थित सिटी म्याक्समा आइतबार आयोजित काव्यवाचन शृङ्खला ‘कविता चौतारी’को पहिलो संस्करणमा ‘मोनालिसा र आठ मार्च’ कविताकृतिका सर्जक उमेश अकिञ्चन र ‘मनमा आँधी चलेपछि’ तथा ‘थिबिया चराको गीत’ दुई कविताकृतिका सर्जक कवि चन्द्र रानाहँछाले आ–आफ्ना नयाँ र पुराना गरी १०/१० थान कविता पस्किए।
 
कविता वाचनको पहिलो चरणमा रानाहँछा प्रस्तुत भए। ‘अर्को जन्ममा’ शीर्षक कविताबाट आफ्नो प्रस्तति सुरु गरेका उनले ‘यात्रामा’, ‘आमाको सम्झना’, ‘अनुपस्थितिमा’, ‘रेटिएको इतिहास’, ‘आपाको सालिक’, ‘मृत आकाश’, ‘ईश्वरको सवारी’, ‘भोक र सपना’, ‘तिमीलाई एक्कासि भेटेपछि’ र ‘नफर्किनेहरूलाई’ सुनाए।
 
दोस्रो चरणमा प्रस्तुत भएका अकिञ्चनले ‘दोस्रो पृथ्विी’, ‘आमाको समाधिबाट’, ‘भूगोलपार्क’, ‘मोनालिसा र आठ मार्च’, ‘सोल्टीनी सहर’, ‘बाराक ओबामा’, ‘दृष्टिकोण’, ‘टोक्यो टेकेका डोबहरू,’ ‘किनारीकृति प्रश्न’ र ‘जीवन : तीन दृश्य’ शीर्षकका कविताहरू सुनाए।
 
प्राज्ञ श्रवण मुकारुङले रानाहँछाको कवितामा जातीय र सांस्कृतिक बिम्बहरू सघन रुपमा आउने गरेको तथा उमेशका कवितामा चाहिँ समसामयिकताको मात्रा बढी हुने बताए।
 
आयोजक मिलाप मासिककी कार्यकारी सम्पादक गीता अधिकारीले बजारमा सस्ताखालका हल्लाहरू सिर्जना नगरी चुपचाप साधनामा समर्पित भइरहेका सर्जकहरूलाई प्रस्तुत गर्ने योजना अनुरुप यस्तो कार्यक्रम तय गरिएको बताइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell