PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

जग्गाको मूल्य आकासिँदा उद्योग खोल्न कठिन, औद्योगीकरणमा लाग्दैछ 'ब्रेक'



पहिलोपोस्ट

जग्गाको मूल्य आकासिँदा उद्योग खोल्न कठिन, औद्योगीकरणमा लाग्दैछ 'ब्रेक'

काठमाडौं : जग्गाको मूल्य आकासिँदा मुलुकभित्र उद्योग स्थापना गर्न कठिन हुने थालेको छ। उद्योग स्थापनाका लागि सडक, बिजुली लगायतको पूर्वाधार आवश्यक भए पनि जग्गा मूल्यक आकासिँदा उद्योग स्थापनामा समस्या देखिएको हो।
 
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले जग्गाको मूल्यकै कारण मुलुकमा औद्योगिकरणमा ‘ब्रेक’ लाग्ने अवस्था आएको बताए। उनका अनुसार पूर्वाधार भएको स्थानमा जग्गा किनेर उद्योग स्थापना गर्न नसकिने अवस्था आएको छ।
 
‘पूर्वाधार भएको सुगममा उद्योग स्थापना हुने हो जसले सहज रुपमा बजारको पहुँच समेत पाउँछ,’ उनले भने, 'सुगम स्थानमा जग्गा किनेर उद्योग स्थापना गर्न सकिँदैन। सानो उद्योग स्थापना गर्न पनि एक बिघा जग्गा चाहिन्छ। त्यसका लागि अहिले पूर्वाधार भएको औद्योगिक कोरिडरमा १० करोड रुपैयाँ आवश्यक पर्छ।'
 
अहिले उपत्यका बाहिरका वारा पर्सा, विराटनगर, भैरहवा, हेटौंडा, चितवन लगायतका स्थानका जग्गा आकासिएको छ। यी क्षेत्रमा जग्गा किनेर उद्योग स्थापना गर्न कठिन भइसकेको छ। जग्गा किनेर उद्योग स्थापना गर्दा लागत महँगो भएकोले प्रतिस्पर्धा गर्न कठिन हुने मुरारकाले बताए। राजनीतिक संक्रमण र मजदुर विवादका कारण संकटमा परेको औद्योगिक विकासमा जग्गा अर्को कारक बन्न थालेको उद्यमीको ठम्याइ छ।
 
सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा जग्गाको मूल्य आकासिएपछि उद्योगी/व्यवसायी लगानी गर्न हिच्किचाउन थालेका छन्। जग्गामा आएको मूल्यवृद्धिले १० करोड लगानीको उद्योग स्थापना गर्न २० करोड रुपैयाँसम्मको जग्गा खरिद गर्नुपर्ने बाध्यता रहेको उनीहरुले बताए।
 
‘उद्योगको स्थापना गर्न आवश्यक न्यूनतम पूर्वाधार भएका क्षेत्र अब खनार र हात्तीमुढा गाविसमात्र हुन्, मोरङ व्यापार संघका उपाध्यक्ष रमेश राठीले भने, 'मधेस आन्दोलनमा सङ्कट भोगेका उद्यमी अब सुनसरीको दुहबीबाट पश्चिम जान मान्दैनन्। मोरङको विराटनगर पूर्व रहेको झोराहाट, बैजनाथपुर र कटहरीजस्ता गाविसमा पनि उद्योग खोल्न चाहँदैनन्।’ उनका अनुसार पूर्वाधार भएको स्थानमा कठ्ठाकै ३० लाख रुपैयाँ पर्न थालिसकेको छ।
 
‘पूर्वाधारयुक्त भनिएको टङ्कीसिनवारी गाविस अब प्याक भइसक्यो,' उनले थपे, 'उद्योग खोल्न लायक त्यहाँको धेरैजसो जग्गा घडेरीका लागि प्लटिङ भइसके, प्रति कट्ठा कम्तीमा ३० लाख पर्न थालेको छ।’ बाँकी रहेका मोरङको हात्तीमुढा र सुनसरीको खनार गाविसमा पनि जग्गाको मूल्य आकासिएको हुँदा अब उद्योग खोल्ने ठाउँ पाइन छोडेको उनी बताउँछन्।
 
सस्तो जग्गा पाइने ठाउँमा शान्तिसुरक्षा र पूर्वाधारको अभाव हुने एवं यी दुई सुविधा पुगेका ठाउँमा महँगीको मार खेप्नुपर्ने उनीहरु बताउँछन्। मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार शारडाका अनुसार अब जमिन किनेर उद्योग खोल्न पनि नसकिने भइसकेको छ। ‘जग्गाका कारण मुलुकभित्र औद्योगिकरणको विकासमा ब्रेक लाग्ने देखिएको छ। जग्गाको भाउ आकासिएको आकासियै छ । उद्योगलाई अब सरकारले जमिन उपलब्ध गराउनुपर्छ,' उनले भने।
 
नेपाल उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणाले उद्योग मात्रै नभएर सेवामूलक उद्योगको रुपमा रहेको होटल समेत जग्गाका कारण खोल्न नसकिने अवस्था आएको बताइन्। उनले प्राइम स्थानमा होटल खोल्ने अर्बौ रुपैयाँ चाहिने अहिलेको पर्यटक आगमनले धान्न नसकिने बताइन्।
 
विशेष आर्थिक क्षेत्र विकल्प
उद्योगीहरुले सरकारले विशेष आर्थिक क्षेत्र स्थापना गरेर औद्योगिक विकासलार्इ निरन्तरता दिनुपर्ने बताउँछन्। महासंघका अध्यक्ष मुरारकाले तत्कालै विभिन्न क्षेत्रमा विशेष आर्थिक क्षेत्र स्थापना गरेर औद्योगिक क्षेत्र विकासलार्इ ब्रेक लाग्न दिनबाट रोक्न सकिने बताउँछन्।
 
उनका अनुसार सरकारले ल्याएको एक निर्वाचन क्षेत्र एक औद्योगिक क्षेत्र अवधारणा कार्यान्वयन ल्याउन तत्कालै पहल गर्नुपर्छ। विदेशमा विशेष आर्थिक क्षेत्र स्थापना गरेर औद्योगिक विकासलार्इ बढावा दिने गरेको छ। नेपालमा भने एउटा विशेष आर्थिक क्षेत्र स्थापना हुन १० वर्ष भन्दा बढी लागेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell