काठमाडौं : भारतीय पक्षले महोत्तरीको दशगजा मिचेको घटनाप्रति नेपाल मजदुर किसान पार्टीले संसदमा आपत्ति जनाएको छ।
आजको व्यवस्थापिका संसद बैठकमा बोल्दै नेमकिपा सांसद् प्रेम सुवालले भारतले दशगजा मिचेर सडक र नाला बनाएकोमा विरोध जनाए। उनले तत्काल यस्ता कार्य रोक्नका लागि माग पनि गरेका छन्।
भारतले महोत्तरीको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा दसजगामै पक्की सडक र नाला निर्माण गरेको छ।
जिल्ला प्रशासन कार्यालय, महोत्तरीका अनुसार भारतीय पक्षले मटिहानी गाविस–८ स्थित दसगजा क्षेत्रमा ७ दशमलव ३१ मिटर दसगजा मिचेर पक्की सडक र नाला निर्माण गरेको हो।
सीमाक्षेत्रको दसगजाभन्दा दुवैतिर ३० मिटरसम्म कुनै पनि प्रकारको भौतिक संरचना निर्माण नगर्ने अन्तर्राष्ट्रिय मान्यता र सम्झौता रहे पनि भारतीय पक्षले मटिहानी र मधवापुरको बीचमा दसगजा मिचेर पक्की संरचना निर्माण गरेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले बताए।