PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

बारको आन्दोलनप्रति पिपिएलको ध्यानाकर्षण, राजनीतिक हस्तक्षेप गरिएको आरोप



रासस

काठमाडौँ : प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन, नेपाल (पिपिएलए) ले उच्च अदालतमा न्यायाधीश नियुक्तिको विषयलाई लिएर नेपाल बार एसोसिएसनले सार्वजनिक गरेको विरोधबाट उत्पन्न परिस्थितिका बारेमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सङ्गठनका महासचिव ईश्वरीप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा उच्च अदालतको न्यायाधीशजस्तो गरिमामय पदमा कानुन व्यवसायीबाट गरिएको नियुक्तिमा व्यावसायिकता, वरिष्ठता, पेसागत अनुभव र समावेशीताको सन्तुलन नगरी राजनीतिक हस्तक्षेप गरिएको प्रति आपत्ति प्रकट गरिएको छ।

सङ्गठनले प्रधानन्यायाधीश र बारबीच तत्काल वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न आह्वानसमेत गरेको छ।

विज्ञप्तिमा न्यायपरिषदमा नेपाल बारको तर्फबाट प्रतिनिधित्व गर्ने वरिष्ठ अधिवक्ता रामप्रसाद सिटौलाले न्यायपरिषद्को बैठक छाडेर आफ्नो संवैधानिक दायित्व निर्वाह नगरेको हुँदा निजलाई अविलम्ब फिर्ता बोलाउन बारलाई आह्वान गरेको बताइएको छ।

बारजस्तो न्यायपालिकाको अभिन्न अङ्गले सर्वोच्च अदालतको निर्णयविरुद्ध आन्दोलन गर्ने कुरा न्यायिक मूल्य-मान्यता तथा न्यायिक स्वतन्त्रता एवम् स्वयम् नेपाल बारको मर्यादाको विरुद्धमा रहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell