
चापेल हाड्ले सिरिजअन्तर्गत पहिलो वान डे क्रिकेटमा न्यूजिल्याण्डले अष्ट्रेलियालाई ६ रनले पराजित गरेको छ। साँघुरो रन अन्तरको जितसँगै घरेलु टोली न्यूजिल्याण्डले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ।
अष्ट्रेलियाका मार्कुस स्टोइनिसले नटआउट १४६ रन बनाएपनि कंगारु टोलीको हार टार्न पर्याप्त रहेन।
२८७ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ४७ ओभरमा सबै विकेट गुमाउँदै २८० रनमा समेटियो। पाहुना टोलीका लागि सातौँ क्रममा ब्याटिङ गरेका स्टोइनिसले ११७ बल खेल्दै ९ चौका र ११ छक्काको मद्दतमा १४६ रन बनाए।
स्टोइनिस सातौं नम्बरमा ब्याटिङ गर्दै शतक प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन् भने सातौं नम्बरमा सबैभन्दा बढी रन प्रहार गर्ने अष्ट्रेलीयन खेलाडीसमेत बनेका छन्।
यस्तै बलिङमा ३ विकेट लिएका स्टोइनिस एकै खेलमा शतक प्रहार गर्ने र ३ विकेट लिने पनि पहिलो अष्ट्रेलियन खेलाडी बनेका छन्।
सुरुवाती ५ विकेट सस्तैमा गुमाएपछि धर्मराएको अष्ट्रेलियाको इनिङ्स स्टोइनिसले एक छेउबाट सम्हालेका थिए। अष्ट्रेलिया १३ औं ओभरमा ५४/५ हुँदा क्रिजमा पुगेका स्टाइनिसले छैटौं विकेटका लागि डेबयसटान्ट साम हेजलेटसँग १३ रनको साझेदारी गरे।
त्यसपछि स्टोइनिसले सातौं विकेटका लागि जेम्स फउकनरसँग ८१, आठौं विकेटका लागि प्याट ककिङ्ससँग ४८, नवौं विकेटका लागि मिचेल स्टार्कसँग ३० तथा दशौं विकेटका लागि जोस हाजेलउडसँग ५४ रनको साझेदारी गरे।
फउकनरले २५ तथा कमिङ्सले ३ रन जोडे भने स्टार्क ३ रन बनाएर आउट भए।
स्टोइनिसले हाजेलउडसँग अर्धशतकीय साझेदारी गर्दा सबै रन स्टोइनिसले नै बनाएका थिए। ४७ औं ओभरको अन्तिम बलमा हाजेलउडलाई कप्तान काने विलियनसनले रनआउट गरेपछि अष्ट्रेलिया जित नजिक पुगेर पनि हार बेहोर्न बाध्य भयो।
यसअघि अकल्याण्डस्थित एडेन पार्कमा अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८६ रन बनाएको थियो। न्यूजिल्याण्डका लागि नेइल ब्रुमले सर्वाधिक ७३ तथा ओपनर मार्टिन गुप्टिललले ६१ रन बनाए। यस्तै जेम्स निसामले ४८ तथा कप्तान काने विलियनसनले २४ रनको योगदान गरे।
बलिङतर्फ अष्ट्रेलियाका मार्कुस स्टोइनिसले ३ तथा प्याट कमिङ्सले २ विकेट लिए। अष्ट्रेलिया पराजित भए पनि अलराउण्ड प्रदर्शन गरेका स्टोइनिस खेलको 'म्यान अफ दि म्याच' घोषित भए।