काठमाडौँ : नेपाल विद्यार्थी सङ्घ काठमाडौँ शाखाले उमेरको हदबन्दी तोकेर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्न लागेको विरुद्धमा आज उपत्यकाका अधिकांश क्याम्पसका क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ।
नेविसङ्घ काठमाडौँ शाखाका अध्यक्ष मनोज वैद्यको नेतृत्वमा गएको टोलीले उपत्यकाका पशुपति, सरस्वती, पब्लिक युथ, त्रिचन्द्र, पाटन, शङ्करदेव, मीनभवन लगायतका एक दर्जनभन्दा बढी क्याम्पसका क्याम्पस प्रमुखको कोठामा तालाबन्दी गरेको हो।
अध्यक्ष वैद्यले लामो समयदेखि स्ववियु निर्वाचन हुने आशमा बसेका विद्यार्थीको भावनालाई त्रिभुवन विश्वविद्यालयले बेवास्ता गरेर निर्वाचनको कार्यतालिका निकालेको विरोधमा आफूहरु तालाबन्दी गर्न बाध्य भएको बताए।
उनले भने, '२८ वर्ष काटेका व्यक्ति विद्यार्थी हुन नपाउने?” नेविसङ्घ केन्द्रीय समितिले विद्यार्थीको उमेर हदलाई कुल्चेर अगाडि बढेमा या त्रिभुवन विश्वविद्यालयले बेवास्था गरेमा नेविसङ्घ केन्द्रीय कार्यालय र त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यकक्षमा समेत घेराउ गर्ने बताए। रासस