काठमाडौं : सोमबार दिउस सुनसरीको खनार प्रहरी र स्थानीय समूहविचको इन्काउन्टरमा तीन जना घाइते भए। इटहरी उपमहानगरपालिका-१४ मा रहेको मोरङ सिंचाई योजनाको नहरनजिकै प्रहरी र स्थानीय समूहविच जम्काभेटमा गोली चल्दा मोरङका श्रवण सरदार, करिश्मा चौधरी र सतन पासवान घाइते भए।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेका तीनै जना पूर्वमा भएका विभिन्न आपराधिक घटनामा संलग्न रहेका प्रहरीको दावी छ। अनुसन्धानमा संलग्नस्रोतका अनुसार डेढ महिना अगाडि रानीमा गोली प्रहार गरेर भएको ३ लाख ८० हजार रुपैंया लुटपाट, अभिशेक चौधरीमाथी भएको गोली प्रहारको घटनामा सरदार समूह संलग्न थिए।
उनीहरु अपराध गरे लगत्तै प्रहरीले ट्रयाक गर्ने डरले फोन नम्बर परिवर्तन गरिहाल्थे। सोमबार सो समुह मोटर साइकलमा सिचाइको नहरहुँदै गइरहेको सूचनाको आएपछि पूर्व क्षेत्रीय प्रहरी कार्यालयको अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय सुनसरीको टोली संलग्न थिए।
पूर्व क्षेत्रिय अनुसन्धान समुहले उनीहरुलाई पच्छ्याउँदै गएको टोलीलाई छक्याएर सरदारको टोली भाग्न खोजेपछि एम्बुस थापेर बसेको अर्को टोलीसँग जम्काभेट भएपछि दुबैतिरबाट गोली प्रहार भएको थियो। उनीहरुबाट ४ वटा पेस्तोल फेला परेको सुनसरी प्रहरीले जानकारी दिएको छ।
प्रहरीले सरदारको टोलीले प्रारम्भमा प्रहरीलाई गोली हानेपछि प्रतिकारमा गोली चलाउँदा तीन जना घाइते भएको दावी गरेको छ। तीनै जनाको अवस्था खतरामुक्त छ।
अपराध बढेसँगै प्रहरी आक्रामक
पछिल्लो समय पूर्वाञ्चलमा गम्भिर प्रकृतीका आपराधिक घटना बढेका छन्। लुटपाट र हत्याका घटना त छँदैछ राजनीतिक दलका भातृ संगठनविचको झडप समेत बढ्दो छ। आइतबार मात्रै धरानमा सत्ताधारी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल सुनसरीका उपाध्यक्षले सन्तोष विकले प्रहरीमा आत्मसमर्पण गरे। आत्मसमर्पण गर्नुको कारण थियो युवा संघका सुनसरी सदस्य दिवस राईमाथिको आक्रमण।आइतबार बेलुका दुबै समुहविच झडपहुँदा विकको टोलीले राईलाई खुकुरी हानेर गंभिर घाईते बनाएका थिए। माघ १० मा धरानकै सुमित तामाङ र मनोज लिम्बूबीच भएको झगडा मिलाउन दुबै समुह छलफलमा बसेको बेलामा विवाद चर्किएपछि विक समुहले राईलाई खुकुरी हानेका थिए।
टाउको कञ्चट र दाहिने हातमा चोट लागेका राईको अवस्था चिन्ताजनक भएपछी युवा संघ प्रतिरोधमा उत्रियो। विक भागेर आफैले आत्मसमर्पण गरे। उनलाई धरानमा राख्न नसक्ने देखेपछि प्रहरीले सुनसरीको इनरुवामा ल्याएर राखेको छ। पुस १७ ताप्लेजुङ्मा वन रक्षक गणेश शाहीको हत्या भयो।
पुसमै हंसबहादुर राई, पवित्रा बिष्ट,छालम शेर्पाको हत्या भएको थियो। मोरङगमा मनी चेन्जर सञ्चालक बटेशकुमार साहलाई गोली हानेर ४ लाख रुपैयाँ लुटिएको थियो।
फोटो : www.nagariknews.com