काठमाडौं : सोमबार शेयर बजारमा पहिरो चले सरहको गिरावट आएको छ। बैंक तथा वित्तिय संस्थामा बचतको ब्याजदर बृद्धि प्रभावकारी हुँदै जाँदा त्यसको असर बजारमा देखिएको हो। त्यस बाहेक बजार घट्दै जाँदा शेयर धितोमा ऋण लिनेलाई मार्जिन कल जाने क्रम पनि तिब्र भएको छ। ब्याजदर र मार्जिन कलको दबावमा लगानीकर्ताले धमाधम बिक्री आदेश दिएको एक ब्रोकरले जानकारी दिए।
सोमबार नेप्से परिसूचक १३०९.७० अंकमा झरेको छ।
अहिलेको गिरावट आफुहरुले पहिल्यै आफुहरुले अनुमान गरि सकेको त्यस अनुरुप तयारी पनि गरेको एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरले बताए।
‘बजारमा के नयाँ भएको छ र? हामीले जे भनिरहेका थियौ त्यहि भैरहेको छ, उनले भने- तरलता अभाव छ। ब्याजदर बढेको छ। त्यसैले यसलाई खासै ठुलो कुरा मान्नु पर्ने अवस्थानै छैन।’
अहिले लगानीकर्ताको सेन्टिमेन्ट ब्रेक भएको हुँदा सुधार हुन समय लाग्ने उनको भनाइ छ। ‘अहिले सकेसम्म होल्ड गरौँ, उनले थपे- म त यति भन्छु।’
गएको बिहीबार ३९ अंकको गिरावटपछि बाउन्सब्याक भएको बजारमा आज पनि लगानीकर्ताले त्यहि आशा गरेका थिए। तर खुल्ने बित्तिकै ओरालो लागेको बजारले त्यसपछि फर्केर हेरेन। लगातार ओरालो हिँडिरह्यो। १३७५.४७ अंकमा खुलेको बजार ६५.४४ अंक (करिब पाँच प्रतिशत) झर्दा तीन बज्यो र बन्द भयो।
आज सबै भन्दा धेरै बीमा समूहका लगानीकर्ताले गुमाएका छन्। बीमा उपसूचक ८.७ प्रतिशतले घटेको छ। बीमा कम्पनी पूँजी बृद्धि हुन्छ भन्ने आशमा बसेका लगानीकर्ता लामो होल्ड गर्दा पनि कुनै निश्कर्षमा नपुगेपछि शेयर बेच्न थालेको ३८ नंम्बर स्टक ब्रोकरका निर्देशक बिष्णुराज ओझाले बताए।
प्रस्तावित बीमा ऐनमा कम्पनीको पूँजी संरचना तोकिने चर्चा लामो समय चलेको थियो। तर, पछिल्लो समय बीमा समितिलाई नै यो अधिकार दिने र ऐनले नतोक्ने हल्ला चल्न थालेको छ। त्यही कारण लगानीकर्ता थप हतोत्साहित भएको ब्रोकरहरुको भनाइ छ।
बैंकिङ समूहका कम्पनीको मूल्य एक तहसम्म झरिसकेको हुँदा बीमा समूहमा ठूलो गिरावट आएको ओझाले बताए।
बीमापछि होटल उपसूचक ७.२४, फाइनान्स ५.४८ र बैंकिङ ४.६३ प्रतिशतले घटेका छन्। विकास बैंक, जलविद्युत र अन्य उपसूचकमा पनि ठूलै गिरावट आएको छ।
ओझाका अनुसार सेयर मूल्य घटाएर किन्ने लगानीकर्ताको कमी छैन। बिक्री आदेशसँगसँगै किन्ने लगानीकर्ता पनि आइरहेको उनले बताए। सोही कारण बजारमा ठूलो गिरावट आउँदा पनि ५३ करोड ६६ लाख रुपैयाँको कारोबार भएको उनको भनाइ छ। सोमबार १२३ कम्पनीको ११ लाख २६ हजार कित्ता शेयर किनबेच भयो।
त्यसमा जम्मा पाँच कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन्। सबैभन्दा धेरै अरुण फाइनान्सका शेयरधनीले ५.५६ प्रतिशत कमाए। त्यस बाहेक ओरियन्टल होटल, राष्ट्रिय बीमा कम्पनी, रिलायन्स लोटस फाइनान्स र एक्सल डेभलपमेन्ट बैंकको शेयर मूल्य बढेको हो।
सोमबार नौ कम्पनीको शेयर १० प्रतिशतले घटेर सर्किट ब्रेकर लागेको छ। तिनमा प्रुडेन्सियल इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक, हिमालयन जनरल इन्स्योरेन्स, सोल्टी होटल, सगरमाथा इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नेपाल ग्रामिण विकास बैंक, समिट माइक्रो फाइनान्स छन्। यस्तै २३ कम्पनीको शेयर मूल्य झन्डै १० प्रतिशतले घटेको छ।