PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

​मोरङमा रेबिजबिरुद्धको सुई अभाव, निःशुल्क सुईको ६ सय रुपैयाँ तिर्न बिरामी बाध्य



रासस

उर्लाबारी (मोरङ) : मोरङको उर्लाबारीमा रहेको मङ्गलबारे अस्पतालमा रेबिज रोगविरुद्ध लगाइने सुईको अभाव भएको छ। 

सुई अभाव भएपछि अस्पतालमा आउने बिरामी निजी क्लिनिकबाट महँगो शुल्क तिरेर सुई लगाउन बाध्य छन्। महँगो शुल्क तिरेर सुई लगाउनुपर्दा बिरामी मर्कामा छन्। निःशुल्क रुपमा पाइने सुई निजी क्लिनिकबाट रु ६०० तिर्नुपर्दा बिरामी मर्कामा परेका छन्। 

सरकारको सरुवा रोग नियन्त्रण महाशाखाले पूर्वाञ्चल क्षेत्रीय मेडिकल स्टोरबाट अस्पताललाई मासिक १५० डोज आउने सुई ३० जना बिरामीलाई मात्र पुग्छ। मङ्गलबारे अस्पतालमा दैनिक दुईजना बिरामी रेबिज रोगविरुद्धको सुई लगाउन आउने गरेको अस्पतालका निमित्त प्रमुख डा. राज झाले बताए। 

उनले भने ‘बिरामीको संख्या मासिक ६० भन्दा बढी हुन्छ। सरकारले उपलब्ध गराएको सुईले ३० जनालाई मात्र पुग्छ।’ रेबिज रोगविरुद्धको सुई पहिलो, तेस्रो, सातौँ, चौधौँ र २८ औँ दिन गरी जम्मा पाँचपटक लगाइन्छ। 

मङ्गलबारे अस्पतालमा झापाको दमक, इलामको साक्फारासहित मोरङको इटहरा, सिजुवा, मधुमल्ला, रमितेखोला, लेटाङभोगटेनीलगायतका क्षेत्रबाट पनि बिरामी रेबिज सुई लगाउन आउने भएकाले सुई अभाव भएको डाक्टर झाले बताए। 

मोरङ जिल्लामा कोसी अञ्चल अस्पताल, रङ्गेली अस्पताल र मङ्गलबारे अस्पतालमा रेबिज रोगविरुद्धको सुई निःशुल्करुपमा उपलब्ध हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell