
पोखरा : नेपालका पूर्व राष्ट्रिय खेलाडी एवं पोखरा निवासी बसन्त गौचनले नेपालका यू १२ का खेलाडीलाई जापान लैजाने भएका छन। उनले नेपालको फुटबल विकासका लागि भन्दै गत वर्ष बाट युवा खेलाडी जापान लैजान थालेका हुन।
जापानमा हरेक वर्ष संचालन हुने ‘कोपा तोरेरस’ फुटबल प्रतियोगिताका लागि १२ जना खेलाडीहरु मार्चको अन्तिम साता जापान जाने भएका हुन। उक्त प्रतियोगिता गौचन कार्यरत जापानी प्रतिष्ठित संस्था फन रुट्स एकेडेमीले आयोजना गर्दै आइरहेको छ।
१२ जना खेलाडीलाई लाग्ने हवाइ यातायात बस्ने खाने खर्च सवै बसन्तले नै बेहोर्नेछन्। उनी दुई वर्ष देखी उक्त संस्थामा प्रशिक्षकको भुमिका निर्वाह गर्दै आएका छन।
प्लारतियोगिताका लागि १२ वर्ष मुनिका १२ जना खेलाडी समेत छनौट भइसकेका छन। जापान जाने खेलाडीमा पुर्व राष्ट्रिय खेलाडी राजेन्द्र तामाङले संचालन गरेको आर.टी ट्रेनिङ सेन्टरका ९ जना छन् भने रुपन्देही एकेडेमीबाट २ र नेशनल स्पोर्ट्स सेन्टर काठमाडौंबाट १ जना रहेका छन।
छनौटमा परेकाहरुमा कृतन थापा (गोलकिपर), संगम गुरुङ्ग (गोलकिपर), संगम गैरे (डिफेन्स), कालिदास विक (डिफेन्स), निखिल कार्की (डिफेन्स), प्रसान्त सुनार (डिफेन्स), बिक्रम गौतम (मिडफिल्ड), निराजन खत्री (मिडफिल्ड), देव गुरुङ्ग (मिडफिल्ड), निश्चल जिशी (फरवार्ड) र निश्चय उप्रती (फरवार्ड) रहेका छन।
करिव १० वर्ष देखी जापानमा कार्यरत गौचनले फुटबल मोहले नै उक्त क्लबसंग आवद्ध भएको बताए। उनले खेलाडी जापान लैजान जापानी नेपाली संस्था र व्यक्तिहरुसंग मिलेर च्यारिटी मार्फत रकम संकलन गरेको बताए।
उनले भने 'यति धेरै जना जापान लैजानु चुनौती नै छ तर नेपाली लगायत फन रुट्सकै अध्यक्षले समेत नेपाली खेलाडीको स्किल राम्रो देखेर फेरी निम्तो दिएका हुन, नेपाली फुटबलर भएको नाताले मलाई खुसी लागेको छ, कम्तीमा नेपाली फुटबल केही गर्न सकिन्छ कि भन्ने आशा जागेको छ।'
प्रतियोगितामा ३२ भन्दा बढी देशका टिमको सहभागिता रहने उनले बताए। गत वर्ष खेलाडी जापान लैजाँदा २५ लाख खर्च लागेको उनले बताए।
गौचनले पोखरामा आएको बेला विभिन्न ट्रेनिङ सेन्टरमा प्रशिक्षणमा रहेका यू १२ का करिव १ सय २८ जना खेलाडीलाई फुटबल बुट लगाएत अन्य खेल सामग्री समेत प्रदान गरे।