PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

​विद्यालयलाई तीस लाख रुपैयाँको जग्गादान



रासस

बाबियाचौर : बेनी नगरपालिका–१३ तातोपानीमा रहेको सरस्वती माविलाई एक दम्पतीले रु ३० लाख मूल्य बराबरको जग्गा उपलब्ध गराएका छन्। 

विद्यालयको शैक्षिक एवम् भौतिक विकासका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले गत बिहीबारदेखि सञ्चालित महायज्ञ तथा धार्मिक, शैक्षिक महोत्सवको अवसरमा जग्गा सहयोग प्राप्त भएको हो । 

तातोपानी फापरखेत घर भई हाल चितवन टाँडी निवासी टुङ्गलाल अधिकारी र उहाँकी श्रीमती तारा अधिकारी शर्माले सोमबार करिब दुई रोपनी जग्गादान गरेको मूल आयोजक समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए। 

स्थानीय मूल्याङ््कन अनुसार सो जग्गाको मूल्य रु ३० लाख कायम गरिएको छ । जग्गादाता अधिकारी दम्पतीलाई विद्यालय तथा महायज्ञ आयोजकको तर्फबाट सम्मान गरिएको थियो । विद्यालय परिसरमा अधिकारीको अर्धकदको सालिक र परिवारका सदस्यको नामावली विवरण रहेको ताम्रपत्र राख्ने निर्णय भएको छ। 

यसैगरी, सिङ्गा तातोपानी शैक्षिक एवम् धार्मिक महोत्सव तथा महायज्ञको पाँचौँ दिन सोमबारसम्म जिन्सीबाहेक रु ३८ लाख ८५ हजार सहयोग सङ्कलन भएको प्रचारप्रसार उपसमितिका संयोजक विक्रम बुढाथोकीले जानकारी दिए। सोमबार रु १७ लाख १७ हजार १३ नगद सहयोग प्राप्त भएको हो।

माघ २० गतेसम्म सञ्चालन हुने महायज्ञमा पण्डित नारायण न्यौपानेले कथावाचन गरिरहेका छन्। सरस्वती माविमा प्राविधिक शिक्षाको विस्तार गर्ने, कक्षा ११ र १२ को पठनपाठन सञ्चालन र शैक्षिक तथा भौतिक विकासका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले महोत्सव सञ्चालन गरिएको व्यवस्थापन समितिका अध्यक्ष विष्णुदत्त उपाध्यायले बताए। 

सत्रजना शिक्षक, शिक्षिका कार्यरत विद्यालयमा पाँचजना मात्र दरबन्दीका छन् । १२ जनाको तलब निजी स्रोतबाट व्यवस्थापन हुँदै आएको छ। विद्यालयमा तीनसय २० जना भन्दा धेरै विद्यार्थी अध्ययनरत छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell