PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

पोखरामा चारदिने नेपाल साहित्य महोत्सवको समापन



पहिलोपोस्ट

पोखरामा चारदिने नेपाल साहित्य महोत्सवको समापन

पोखरा : विभिन्न साहित्यिक छलफल, चिन्तन, अन्तरक्रिया, सांगीतिक प्रस्तुति, कविता वाचनसहित चारदिने नेपाल साहित्य महोत्सव पोखरामा सोमबार सकिएको छ।

फेवाताल किनारमा अवस्थित नेपाल पर्यटन बोर्डको प्रांगणमा महोत्सव माघ १४ गते सुरु भएको थियो।

महोत्सवको अन्तिम दिन पहिलो सत्रमा कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफ्ना आरोह अवरोहहरु सम्पादक गुणराज लुइँटेलसँग बाँडे। यसपछिको सत्रमा लेखकहरु बुद्धिसागर र अमर न्यौपानेले आफूले कृतिहरुमा आँसुको व्यापार गरे/नगरेको बारे चर्चा गरे। यो सत्रको सञ्चालन राजेन्द्र पराजुलीले गरेका थिए। हलमा भने सञ्चारकर्मी समृद्धि राईले लोकप्रिय भारतीय लेखक दुर्जोय दत्तसँग जीवनमा प्रणयको आवश्यकताबारे कुराकानी गरेकी थिइन्।
 
चौरमा यसपछिको 'एन्टी सोसल मिडिया' सत्रमा सामाजिक सञ्जाल कति असामाजिक बन्दै गएको छ भन्ने विषयमा भुटानी पत्रकार नाम्गे जाम, लेखक सुबिन भट्टराई र चिकित्सक तथा अभियन्ता जीवन क्षत्रीले संवाद गरे। यसलाई ऋचा भट्टराईले सहजीकरण गरेकी थिइन्। हलमा भने 'बागी विचार' शीर्षकमा कवि सरस्वती प्रतिक्षा, लेखक राजन मुकारुङ र खगेन्द्र संग्रौलाबीच संवाद गराएका थिए गनेश पौडेलले।
 
त्यसपछिको सत्रमा लेखक नारायण ढकाल तथा कविहरु सरिता तिवारी र भूपाल राईले साहित्यमा आवश्यक समयचेत र समयबोधबारे टिकाप्पिणी गरे। यस सत्रको संयोजक कवि शकुन्तला जोशी थिइन्। हलको अन्तिम सत्रमा भने पेसा बाधा कि खुराक शीर्षकमा लेखक नयनराज पाण्डे, रवीन्द्र समीर र रामलाल जोशीले अनुभव सुनाए। यो सत्रलाई विमल आचार्यले सहजीकरण गरे।
 
चौरको पाँचौ सत्र विशेष रह्यो। नेपाली समाज र विशेषगरी सरकारमा देखिन थालेका चाँदीका घेराबारे नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ र स्वास्थ्य मन्त्री गगन थापाले आफ्ना विचार बाँडे। पत्रकार अमित ढकालले संयोजन गरेको उक्त सत्रमा व्यक्तिगत प्रयासले मात्र विशेष परिवर्तन गर्न निकै गाह्रो भए पनि असम्भव नभएको निष्कर्ष निस्कियो।
 
त्यसपछिको सत्रमा जनगायक रामेशले हिमाल एशोसिएसनका प्रमुख वसन्त थापासँग कुराकानी गर्दै सबैलाई देश बनाउनका लागि आफ्नो तर्फबाट उठ्न र जुट्न आह्वान गरे।
 
कार्यक्रम समापनमा फेस्टिभलका कार्यकारी निर्देशक निरज भारीले अर्को वर्ष पनि महोत्सव पोखरामै आयोजना गर्ने वाचा गरे। फेस्टिभलको अन्तिम दिनको अन्तिम सत्रका रुपमा कविता वाचनको सत्र थियो। सरस्वती प्रतिक्षाले संयोजन गरेको उक्त सत्रमा १० जना कविले आफ्ना शक्तिशाली कविताहरुद्वारा दर्शकहरुलाई मन्त्रमुग्ध बनाएका थिए।
 
फेस्टिभलका पाँच संस्करण भइसकेका छन्। यस वर्षको महोत्सवलाई र्‍याण्डम रिडर्स सोसाइटीले सहआयोजना गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell