
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकारी आदेशको विरोध गर्ने महान्यायाधिवक्ता साली यट्सलाई पदबाट बर्खास्त गरेका छन्। महान्यायाधिवक्ता यट्सले ट्रम्पको शरणार्थीलाई अमेरिका प्रवेश बन्द गर्ने कार्यकारी निर्णयको कानुनी आधारमा प्रश्न उठाएकी थिइन्।
यट्सले आफु मातहतको न्याय विभागलाई कार्यकारी आदेश नमान्न निर्देशन दिएकी थिइन्। उनी पूर्वराष्ट्रपति बाराक ओवामाको कार्यकालमा नियुक्त भएकी हुन्।
ह्वाइटहाउसले एक स्टेटेमन्टमा यट्सलाई हटाएको जनाएको छ। साथै कार्यकारी महान्यायाधिवक्तामा डाना बोएन्टेलाई नियुक्त गरिएको स्टेटमेन्टमा उल्लेख छ। बोएन्टे ‘इन्सर्ट डिस्ट्रिट अफ भर्जिनिया’का सरकारी वकिल हुन्।
केही दिनअघि राष्ट्रपति ट्रम्पले सातवटा मुस्लिम देशबाट आप्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाउने निर्णय लिएका थिए। १२० दिनका लागि आप्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाउने निर्णय उनले लिएका थिए। सिरिया, लिविया, इराक, इरान, सोमालिया, सुडान र यमनका नागरिकलाई प्रवेश निषेध गर्न उनले निर्देशन दिएका थिए।
ट्रम्पको निर्णयलाई अदालतले विधिपूर्वक प्रवेश गर्नेलाई नरोक्न भनेको थियो। राष्ट्रपति ट्रम्पको यो निर्णयपछि अमेरिकीमा प्रदर्शन समेत भएको छ। अमेरिकाको छिमेकी क्यानाडाले युद्धपीडित मुस्लिम देशका नागरिकलाई क्डानाडामा स्वागत रहेको जनाउ दिइसकेको छ।