
काठमाडौँ : वरिष्ठ गीतकार किरण खरेललाई यस वर्षको माधव घिमिरे गीत पुरस्कारबाट सम्मान गरिएको छ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गरेको एक कार्यक्रममा राष्ट्रकवि माधव घिमिरेले उनलाई सो पुरस्कारबाट सम्मान गरे। पुरस्कारको राशि रु २१ हजार छ।
सो अवसरमा राष्ट्रकवि घिमिरेले नेपाल एक बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले ती सबैको एकताबाट नै देश समृद्ध हुने बताउँदै विभिन्न भाषाभाषीको साहित्यले मुलुकको गौरव र प्रतिष्ठा बढाएको भनाइ राखे।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटा, समाजका उपाध्यक्ष रामबाबु सुवेदी, र सम्मानित व्यक्तित्व खरेल लगायतले नेपालको कला र साहित्यका विविध पक्षमाथि प्रकाश पारेका थिए।