काठमाडौं : संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकमा विभिन्न देशमा रिक्त रहेका राजदूत नियुक्तिबारे छलफल चल्यो। समितिले तत्काल ती देशमा राजदूत पठाउन सरकारलाई निर्देशन पनि दियो।
बैठकमा उपस्थित भएका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नियुक्तिका लागि आफू निकै हतारिएको र अब चाँडै प्रक्रिया थाल्ने प्रतिबद्धता पनि जनाए। सहभागी समितिका सांसदहरुको प्रश्नमा मन्त्रीले जवाफ दिइरहेका थिए। यति नै बेला कांग्रेस सांसद गीता वाग्लेले नयाँ प्रसंग झिकिन्। उनको जिज्ञासा थियो वैदेशिक रोजगारीमा गएका महिलाहरुको पीडाबारे।
'खाडी मुलुकमा गएका नेपाली महिला बेहाल अवस्थामा छन्। हामीले उनीहरुको त्यो अवस्थाबारे स्थलगत रुपमै बुझ्न पाउनुपर्छ कि पर्दैन?' उनले प्रश्न गरिन्, 'मलेसिया, दुबई जस्ता देशमा हामी पनि जान पाउनुपर्यो नि। परेन?'
उनको प्रश्नमा अन्य सदस्यसँगै समितिका सभापति प्रभु शाह र मन्त्री महत पनि खासखुस गर्दै मुसुमुसु हाँस्न थाले।
सांसद वाग्लेको प्रश्न अझै सकिएको रहेनछ। सभापति शाहतिर हेर्दै थपिन्, 'आफ्ना मान्छेहरु र आफूलाई मन परेकाहरुलाई मात्र लैजानुहुन्छ। हामी त के हेर्नुहुन्थ्यो र?'
यसपछि भनै बैठक हलमा एकछिन सांसदहरुको हाँसोले भरियो।