PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

वाइसिएल कार्यकर्तासामु प्रचण्डले भने- 'राष्ट्रवादका नाममा दक्षिणपन्थी हावा चल्दैछ, चुप नलाग्नुस्'



पहिलोपोस्ट

वाइसिएल कार्यकर्तासामु प्रचण्डले भने- 'राष्ट्रवादका नाममा दक्षिणपन्थी हावा चल्दैछ, चुप नलाग्नुस्'

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा राष्ट्रवादका नाममा दक्षिणपन्थी हावा चल्न खोजेको बताएका छन्।
 
माओवादी केन्द्रसम्बद्ध योङ कम्युनिस्ट लिग, नेपाल (वाइसिएल) को एकता भेलालाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले देशमा दक्षिणपन्थी हावा चल्न थालेको बताए। ‘युवाहरुको नेतृत्व र सहभागितामा देशमा निकै ठूलो युद्ध चल्यो। जनयुद्धले देशमा गणतन्त्र, धर्मनिरेपक्षता, संघीयता, समावेशी शासन प्रणाली, सामाजिक न्यायजस्ता ठूला राजनीतिक मुद्दाहरु जन्मायो,' माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले भने, 'आज फेरि जनयुद्धले जन्माएका मुद्दाहरु उल्टाउन प्रतिगामी सोच र मनोविज्ञान भएका शक्तिहरु लागिपरेका छन्। ब्युँझने बेला आएको छ।'
 
हिमाड, पहाड र तराईबीच भावनात्मक एकता पैदा गरेर राष्ट्रिय एकता हासिल गर्ने प्रयासमा आफूहरु रहे पनि एकथरी शक्ति राष्ट्रवादको नाममा दक्षिणपन्थी हावा चलाउन खोजिरहेको उनले आरोप लगाए। 'अन्ध राष्ट्रवादको वकालत गरेर, सामन्ती तत्वसँग साँठगाँठ गरेर गणतन्त्र उल्टाउने, संघीयता लागू हुनै नदिने, धर्मनिरपेक्षता खारेज गराउने प्रपञ्चमा छन्। तर, जनताको जागरणसामु त्यो किमार्थ सम्भव छैन,’ उनले भने। माओवादी नक्कली राष्ट्रवादको पक्षमा नभई जनताको आत्मिक एकतासहितको राष्ट्रिय एकताको पक्षमा रहेको उनको भनाइ थियो।
 
जनयुद्धद्वारा स्थापित राजनीतिक अधिकार जोगाउन युवाहरुले नयाँ संकल्प गर्नुपर्ने भन्दै उनले विभाजित माओवादी आन्दोलनलाई एकताबद्ध गरी शक्तिशाली बनाउनुपर्ने बताए।
 
सरकार स्थानीय निर्वाचनको मिति घोषणाको अन्तिम तयारीमा रहेको जानकारी दिँदै प्रधानमन्त्रीले छिट्टै निर्वाचनको मिति घोषणा हुने बताए।
 
१० माओवादी घटकहरुको एकतापछि आज माओवादीनिकट ७ युवा संगठनहरुको एकता भेला आयोजना गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell