PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

ब्लाइण्ड वर्ल्ड कप क्रिकेट : पहिलो खेलमा नेपाल अष्ट्रेलियासँग १० विकेटले पराजित



पहिलोपोस्ट

काठमाडौं : भारतमा भइरहेको ब्लाइण्ड वर्ल्ड कप टी २० क्रिकेटको पहिलो खेलमा नेपाल अष्ट्रेलियासँग १० विकेटले पराजित भएको छ।

दिल्लीको अ्वाराकास्थित डिडिएको मैदानमा भएको खेलमा नेपालले दिएको १४४ रनको लक्ष्य अष्ट्रेलियाले १२.४ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको हो।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १४३ रन बनाएको थियो।  नेपालले सर्वाधिक ३८ रन अतिरिक्तबाट पाएको थियो भने सुनिल सुवेदी क्षेत्रीले नटआउट रहँदै ३४ रनको योगदान गरे।

यस्तै दशौं नम्बरमा ब्याटिङ गरेको किर्तन श्रेष्ठ दुवालले २० बलमा ३ चौकाको मद्दतले नटआउट २९ रन बनाए। यसबाहेक रमेश बहादुर बानियाँले १८ तथा सुनिल बहादुर थापाले १२ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।

अष्ट्रेलियाका रेमन स्टेफन सटन मोक्सले र मार्क आसिक हास्केटले २/२ विकेट लिए। 

जवाफमा १४४ रनको लक्ष्य अष्ट्रेलियाले कुनै विकेट नगुमाई भेट्टायो। अष्ट्रेलियाको सहज जितमा म्याथ्यु जेम्स क्यामरोनले नटआउट ६८ रन बनाए भने स्टेफेन लियो पाल्मरले ४८ रन जोडे। ४३ बल खेलेका क्यामरोनले ५ चौका प्रहार गरे भने पाल्मरले ४३ बल खेल्दै २ चौका प्रहार गरे।

ब्लाइण्ड क्रिकेट वर्ल्ड कपमा नेपाल अष्ट्रेलियासँग हारेको यो दोस्रो पटक हो। यसअघि सन् २०१२ मा भारतमै भएको प्रतियोगितामा पनि नेपाल अष्ट्रेलियासाग पराजित भएको थियो।

मंगलबारै भएको अनय खेलमा भारतले वेष्ट इन्डिज, पाकिस्तानले इंगल्याण्ड, बंगालेशले दक्षिण अफ्रिका र श्रीलंकाले न्यूजिल्याण्डलाई पराजित गरेको छ।

प्रतियोगितामा कूल १० टोलीको सहभागिता रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell