काठमाडौं : आयोजक एपीएफ तथा नेपाल पुलिस क्लब ‘सशस्त्र प्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता–२०७३’ को सेमिफाइनलमा प्रवेश गरेको छन्। एपीएफ समूह ए को विजेता तथा पुलिस समूह बी को विजेता बन्दै अन्तिम चारमा पुगेका हुन्।
हलचोकस्थित एपीएफको भलिबल कोर्टमा भएको खेलमा पुलिस मंगलबार दोहोरो सफलता निकाल्दै समूह बी को बिजेता बन्यो।
पहिलो खेलमा आर्मीलाई २५–२०, २५–१४ र २५–१४ को सोझो सेटमा हराएको पुलिसले दोस्रो खेलमा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई २५–१२,२५–१९ र २५–२१ को सोझो सेटमा हराएको थियो।
पहिलो खेलमा उत्कृष्ट सेटरको भूमिका निभाएकी पुलिसकी सुशिला थापा वुमन अफ द म्याच चुनिदाँ पुलिसकै चुडा खड्का दोश्रो खेलकी वुमन अफ द म्याच भईन्।
त्यस्तै समूह ए को विजेता बन्ने क्रममा एपीएफले न्युडायमण्ड एकेडेमीलाई ३–१ को सेटमा हरायो। पहिलो सेट २२–२५ ले गुमाएपनि एपीएफले त्यसपछि खेलमा पुनरागमन गर्दै लगातार तीन सेट २५–१२, २५–२३ र २५–२३ ले जित्यो।
एपीएफबाट उत्कृट प्रर्दशन गरेकी सरस्वती चौधरी वुमन अफ द म्याच भईन्। एपीएफले पहिलो खेलमा जावलाखेलाई पराजित गरेको थियो।
यस्तै एपीएफसँग हारेपनि जावालाखेलाई पराजित गरेको न्युडायमण्ड समूह बी को उपविजेता बनेको छ। सेमिफाइनलमा न्युडायमण्डले अब पुलिसँग प्रतिस्पर्धा गर्नेछ।