PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

भारतीयको हत्या आरोपमा सात वर्ष जेल बसेका १० नेपाली बालुवाटारमा, प्रमलाई सुनाए करुण कथा



सविन ढकाल

भारतीयको हत्या आरोपमा सात वर्ष जेल बसेका १० नेपाली बालुवाटारमा, प्रमलाई सुनाए करुण कथा

काठमाडौँ : बिहानै जेलभित्र करिब दुई सय जना प्रहरीको हूल आउँथ्यो। निद्रामै रहेका कैदीलाई जबरजस्ती समातेर लैजान्थे। केही समयपछि उनीहरुलाई प्रहरीले काटेर मारेका खबर सुनिन्थो। प्रहरीले त्यसरी नै लगेर आफूलाई पनि मार्ला कि भन्ने त्रासमा ७ वर्ष बित्यो। 

७ वर्ष साउदीको जेलमा बिना कारण बिताई मृत्युलाई जितेर रित्तो हात फर्किएका ४२ वर्षीय भक्तबहादुर दर्जीले भावुक हुँदै सुनाए, ‘हाम्रो अगाडि नै ७५ जनालाई काटेर मार्‍यो।’
 
नेपालको विमानस्थलमा खुट्टा टेक्दा अबचाहिँ बाँचिएको जस्तो भयो। 

२०६५ सालमा जीवनका सुन्दर सपना बोकी उनी घर परिवारलाई छोडेर साहुसँग ७५ हजार ऋण काटेर साउदी उडेका थिए। साउदी पुगेर कमाउन थालेपछि आफ्नो परिवारको आर्थिक अवस्था सुध्रिएला कि भन्ने लागेको थियो। मेनपावरले साउदीको राम्रो कम्पनीमा काम भएको बताएको थियो।

साउदी पुगेपछि उनले मेनपावरले भनेको जस्तो काम पाएनन्। तातो रोडमा घाँस काट्ने काम लगाइयो। तीन महिनासम्म त्यही काम गर्दा पनि उनले तलब पाएनन्। पटक-पटक तलब माग्दा उनीमाथि दुर्व्यवहार गरियो। उनी भन्छन्, 'कति दिन भोकभोकै काम गरियो। त्यसपछि खानै नपुगेपछि काम छोडेर भागे। 

कम्पनी छोडेर भागेपछि उनले कतै काम पाएनन्। त्यसपछि उनले स्वदेश फर्किने योजना बनाए। दलाललाई नेपालबाट ५ हजार रियल दिएर स्वदेश फर्किने तर्खरमा रहेका दर्जीलाई  साउदी प्रहरीले पक्राउ गर्योन। केही दिनसम्म त उनलाई प्रहरीले पक्राउ गरेको कारणसमेत थाहा थिएन। 

सन् २०१० फ्रेब्रुअरी २ देखि १५ सम्ममा साउदी प्रहरीले ११ जना नेपालीलाई पक्राउ गर्‍यो। पक्राउ परेका दर्जीसहितले केही दिनमा उनीहरुलाई पक्राउ गरेको कारण थाहा पाएनन्। उनीहरुलाई एक जना भारतीय नागरिकको हत्या गरेको अभियोगमा पक्राउ गरिएको थियो।

साउदी जेलमा उनीहरुलाई प्रहरीले अनुसन्धानको क्रममा निर्ममतापूर्वक कुटपिट गर्‍यो। उनी भन्छन्, हत्या गरेको हुँ भन् भनेर करेन्टसमेत लगाउँथे। तँलाई काट्छौँ, माछौँ मात्र भन्थे। पैतालामा कुटेर थिलथिलो बनाएका थियो। त्यतिखेर देश र परिवारको एकदम याद आउँथ्यो । ५ महिनासम्म त परिवारका सदस्यलाई केही थाहा थिएन। 'जेलमा धेरै दिनसम्म कुटाई खाइन्थ्यो। बिहान एउटा रोटी, दिउँसो एक डाडु भात र बेलुका एउटा रोटीमात्र खान दिन्थे' भक्तबहादुरले रुन्चे स्वरमा सुनाए।

उनीसँगै रहेका श्रीकुमार राईले थपे, 'हामीलाई साउदीमा रहेको नेपाली दूतावसका कर्मचारीले पनि दुर्व्यवहार गरे। पटक पटक सम्पर्क गर्दा अभद्र गाली गर्थे। दूतवासले पहल गरेको भए हामी महिना पनि जेल बस्नुपर्ने थिएन। मलीन स्वरमा भने हामीसँगै रहेका एक जना साथी सुनसरी मधूवनका उमेश श्रेष्ठको उतै मृत्यु भयो। अहिलेसम्म सरकारले उनको शवसमेत झिकाउन सकेको छैन। 

दर्जीसहित अन्य ९ जनलाई ७ वर्षपछि साउदी सरकारले विमानस्थलमा ल्याएर प्लेनमा बसाएपछि हतकडी खोलिदिएर र नेपाल फिर्ता गर्यो । ७ वर्षसम्म विना कसूर जेलमा बसियो। आफ्नो कपडासमेत लिएर आउन पाइने। कमाएर छोरो पठाउने बेलामा आफू जेलमा बस्यो अहिले छोरो ड्राइभर भएको छ।

विगत सात वर्षदेखि साउदीको जेलमा परेर डेढ महिनाअघि नेपाल फर्किएका एघार नेपालीहरुले मंगलबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरे।

सात वर्षअघि भारतीय नागरिकको हत्या अभियोगमा साउदी जेलमा परेका एघार नेपालीहरुले प्रधानमन्त्री प्रचण्डसँग भेट गरी नेपाल ल्याउने प्रक्रियामा गरेको सहयोगका लागि धन्यवाद दिँदै सात वर्ष लामो जेल जीवनले पारिवारिक जीवन अस्तव्यस्त भएको भन्दै सरकारसँग सहयोगका लागि अनुरोध गरे। 

जेलबाट छुटेका नेपालीहरुसँगको भेटमा प्रधानमन्त्रीले भने, ‘तपाईहरुको कुरा सुन्दा निकै दुःख लाग्यो । बिदेशमा यस्ता पीडा भोग्ने थुप्रै नेपालीहरु छन् । मेरो नेतृत्वमा सरकार बनेपछि मैले बिदेशमा रहेका नेपालीहरुलाई के गर्न सकिन्छ भनेर आफ्नो ठाउँबाट प्रयास गरिरहेको छु। तपाईहरुलाई राहत उपलब्ध गराउन सरकार सकारात्मक छ, यसबारे म आवश्यक कुरा गर्छु । तपाईहरु निर्दोष भएका कारण साउदी सरकारसँग पनि कुटनीतिक पहल गरेर राहत उपलब्ध गराउने कोशिस हुनेछ । कर्मचारीको लापरवाहीका कारण तपाईहरुले दुःख पाएको भए त्यसबारे पनि समीक्षा गरिन्छ । साउदीमा भएको मृत शरीर नेपाल ल्याउन र परिवारलाई राहतका लागि म सम्वेदनशील छु ।’

सन् २०१० फेब्रुअरीमा साउदीको जेद्दा बराइमान जेलमा परेका नवलपरासीका कृष्णबहादुर दमाई, रुपन्देहीका भक्तबहादुर दर्जी, रसुवाका सोम तामाङ, धादिङका रामबहादुर तामाङ, तनहूँका केशबहादुर नेपाली, भोजपुरका श्रीकुमार राई, ओखलढुङ्गाका बीरबहादुर बुढाथोकी, झापाका दिपेन शेर्मा, मोरङका चक्रबहादुर गुरुङ र मोरङका भीमप्रसाद चिमरियाले प्रधानमन्त्रीसँग भेट गरेका हुन् । भेटमा क्रममा पीडितहरुले साउदी जेलभित्रै मृत्यु भएका झापा मधुबनका उमेश श्रेष्ठको मृत शरीर नेपाल ल्याउने व्यवस्था गर्न र परिवारलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell