
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिमको प्रभाव भएको सात देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरे लगत्तै पाकिस्तानले हाफिज सइदलाई हाउसएरेष्टमा राखेको छ। जमात उद दावा नाम अतिवादी संगठनका प्रमुख रहेका उनीमाथी भारतमा भएका ठुला आतंकवादी घटनाको दोषी मानिन्छ।
मुख्यगरी सन् २००८ मा भारतको मुम्बइमा १६४ जनाको ज्यान जानेगरी भएको आतंकवादी आक्रमणको योजनाकार सइदनै भएको भारतीयपक्षले दावी गर्दै आएको छ।
सिएनएनका अनुसार पाकिस्तानी सरकारले उनलाई पञ्जाव प्रान्तमा रहेको उनको घरमा नजरबन्द गरेको हो। भारतले सइद भारतमा भएका आतंकवादी योजनाको मुखिया रहेको र पाकिस्तानमा बसेर भारतमा आतंकवादी हमलाको योजना बनाइरहेको दावी गर्दै भारतले सइदको गतिविधि नियन्त्रण गर्न माग गर्दै आए पनि पाकिस्तान सरकारले वास्ता गरेको थिएन।
अमेरिकी राष्ट्रपति ट्रम्पले मुस्लिमको दवदवा रहेको देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने तयारी गर्दा पाकिस्तान समेत सो सुचीमा पर्ने धेरैको आशंका थियो । तर पहिलो सुचिका ७ देशमा पाकिस्तान जोगियो। तर तत्काल सइदलाई उनका ४ सहयोगी सहित नजरबन्द गर्नुको कारण अमेरिकी नीतीलाई नै मानिएको छ।
नजरबन्दमा परेपछि सन्देश जारी गर्दै उनले अन्तराष्ट्रिय दवावमा परेर पाकिस्तान सरकारले आफुलाई नजरबन्द गरेको भन्दै उनले भारत शासित काश्मिरी समर्थकहरुलाई आफ्नो लडाई जारी राख्न आव्हान गरेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मित्रता निभाउन ट्रम्पले उनकै अनुरोधमा आफुलाई नजरबन्द गर्न पाकिस्तानी सरकारलाई दवाव दिएको उनले दावी गरेका थिए।