फलेवास : सरकारले स्थानीय निर्वाचनको चुनावको मिति घोषणा गर्ने तयारी गरिरहेका बेला पर्वतमा १६ वटा पार्टीले दल दर्ता गराएका छन्।
जिल्ला निर्वाचन कार्यालय पर्वतमा सोमबार अन्तिम दिनसम्म १६ वटा दलले पार्टी दर्ता गराएका हुन्।
यसपटक २०७० सालको निर्वाचनभन्दा तीनवटा बढी दल दर्ता भएका हुन् । नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, अखण्ड नेपाल पार्टी, नेकपा माले, नेपाल परिवार दल, सङ्घीय समाजवादी फोरम नेपाल, नेपाल दलित पार्टी, नयाँ शक्ति पार्टी नेपाल, देशभक्त समाज पार्टी, नेकपा (माले) जनसमाजवादी, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी र युनाइटेड ग्रिन अर्गनाइजेसन पार्टीले दल दर्ता गराएका हुन्।
स्थानीय निर्वाचनको चर्चा चलिरहेका बेला जिल्लामा यसपाली तीन दल बढेको जिल्ला निर्वाचन अधिकृत लक्षु शर्माले जानकारी दिए। संविधानसभाको दोस्रो निर्वाचनमा पर्वतमा प्रत्यक्ष निर्वाचनका लागि १३ दल र समानुपातिकतर्फ धेरै दल सहभागी थिए।
पर्वतमा यसपटक नयाँ शक्ति नेपाल, राष्ट्रसेवक लोकतान्त्रिक पार्टी र युनाइटेड ग्रिन अर्गनाइजेसन पार्टी नयाँ दर्ता भएका हुन्। दुई राप्रपा एक भएका छन् भने जनयुनिटी पार्टीले यसपटक दल दर्ता नगरेको कार्यालयले जनाएको छ।
दोस्रो संविधानसभा निर्वाचनमा अधिकांश दलको जमानतसमेत जफत भएको थियो। अघिल्लो निर्वाचनमा क्षेत्र नं १ मा नेपाली काँग्रेस र क्षेत्र नं २ मा नेकपा (एमाले) प्रत्यक्षतर्फ विजयी भएका थिए भने समानुपातिकमा समेत तीनै दलको बाहुल्यता रहेको थियो।
अधिकांश राजनीतिक दल जिल्लामा क्रियाशील भए पनि केही राजनीतिक दल भने निर्वाचन कार्यालयमा दर्ता मात्र भएको पाइएको छ।