PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

काँसघारीमा परिणत भयो नगर उद्यान



पहिलोपोस्ट

बनियानी (झापा) : सरकारले घोषणा गरेको ‘एक नगर, अनेक उद्यान’ कार्यक्रमअन्तर्गत भद्रपुर नगरपालिका–१० मा निर्माण गरिएको नगर उद्यान काँसघारीमा परिणत भएको छ।
 
डेढ वर्षअघि तारघेरा, फूल तथा वृक्षरोपण गरिए पनि त्यस यता उद्यानको स्याहार सम्भार नगरिँदा उद्यान काँसघारीमा परिणत भएको हो। आर्थिक वर्ष २०७१/७२ मा भद्रपुर नपा र जिल्ला वन कार्यालय झापाले संयुक्त रुपमा नगर उद्यानको घोषणा गरेका थिए।
 
नगरपालिका र वन कार्यालयबीच भएको सम्झौता अनुरुप उद्यानको निर्माणमा रु १० लाख लगानी गरिसकिएको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले बताए। 'सम्झौताअनुसारको काम गरेर हामीले उद्यान जिम्मा लगायौँ'– उप्रेतीले भने, 'उद्यानको गुरुयोजना बनाएर नगरपालिकाले काम गर्नुपर्ने हो।'
 
नगरपालिकाले उपलब्ध गराउने भनिएको रु छ लाख हालसम्म उपलब्ध नगराएको उद्यान उपभोक्ता समितिका अध्यक्ष धनजुजु श्रेष्ठले बताए। 'नगरपालिकाले लगानी कबोल गरेको रु छ लाख हालसम्म प्राप्त हुन सकेको छैन'– उनले भने, 'त्यसैले उपभोक्ताले व्यहोर्ने रु एक लाख ५९ हजार पनि लगानी गर्न सकिएको छैन।'
 
जम्मा ८६७,६३५ वर्ग मिटर क्षेत्रफलको उद्यान निर्माण गर्न तारघेरा, फूल तथा वृक्षरोपणका लागि वन कार्यालयले बजेट विनियोजन गरी एक वर्षसम्म त्यसको रेखदेखका लागि पालेसमेत राखेको थियो। त्यसपछि नगरपालिका कार्यालयमा मालीको दरबन्दी भए पनि उद्यान स्याहार सम्भारविहीन बनेको छ।
 
नगरपालिकाले उद्यान निर्माणका लागि चालु आवमा समेत रकम विनियोजन गरेको छैन। सरोकारवालाको बेवास्ताका कारण नगरको शोभा बढाउने उद्यान अलपत्र अवस्थामा रहेको स्थानीय दीप लिम्बूले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell