PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

इँटाभट्टामा जोखिमपूर्ण काम गरिरहेका दुई बालक घर फर्काइए



पहिलोपोस्ट

लिबाङ (रोल्पा) : महिला तथा बालबालिका कार्यालयअन्तर्गत रहेको जिल्ला बालकल्याण समिति रोल्पाले काठमाडौँको इँटाभट्टाबाट फर्काइएका दुई बालकलाई मङ्गलबार एक कार्यक्रमकाबीच अभिभावकको जिम्मा लगाएको छ।
 
काठमाडौँस्थित बालविकास समाजमार्फत उद्धार गरिएका हार्जङ–५, रोल्पाका १४ वर्षीय शङ्कर विक र गैरीगाउँ–५ रोल्पाका १४ वर्षीय दीपक डाँगीलाई अभिभावकको जिम्मा लगाइएको हो।
 
घरबाट भागेर नाइकेमार्फत काठमाडौँ पुगेका ती दुवै बालक केही महिना पहिलेदेखि इँटाभट्टामा जोखिमपूर्ण काममा संलग्न रहेका थिए। महाशक्ति इँटा उद्योग भक्तपुरका प्रोपाइटर कृष्णप्रसाद सुवालले काममा संलग्न दुई बालक विक र डाँगीलाई भक्तपुर प्रहरीको जिम्मा लगाएपछि बालविकास समाजमार्फत बालकलाई अभिभावकको जिम्मा लगाइएको बालविकास समाज काठमाडौँका कार्यक्रम सुपरभाइजर विदुर नेपालले जानकारी दिए।
 
यसरी फर्काइएका डाँगीले प्रावि रानागाउँमा कक्षा ४ सम्म पढेर बीचमै पढाइ छोडेका थिए भने विक निरक्षर छन्। उनले सामान्य 'क', 'ख'सम्म पनि चिनेका छैनन्। डाँगीलाई पुनः विद्यालय भर्ना गराउने निर्णय भएको छ। आर्थिक अभावमा पिल्सिएका डाँगीलाई ‘सेभ द चिल्ड्रेन’को सहयोगमा शैक्षिक सामग्री उपलब्ध गराउने दिलकमल क्षेत्रीले बताए।
 
कार्यक्रममा महिला विकास अधिकृत लोकेन्द्र आचार्यले डाँगीलाई बालविकास समाज काठमाडौँले उपलब्ध गराएको कापिकलम हस्तान्तरण गरेका छन्।
 
कार्यक्रममा बालकल्याण समिति रोल्पाका बाल संरक्षण निरीक्षक कपिलदेव भण्डारी, हुरेक रोल्पाका हस्तबहादुर घर्तीमगर लगायतको उपस्थिति रहेको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell