PahiloPost

May 14, 2024 | १ जेठ २०८१

बर्दियामा हात्ती आतङ्क, स्थानीयबासी मर्कामा



पहिलोपोस्ट

गुलरिया (बर्दिया) : बर्दिया राष्ट्रिय निकुन्ज आसपास क्षेत्रका विभिन्न गाविसमा जङ्गली हात्तीले बर्सेनी अन्नबाली र धनजनको नोक्सान गर्न थालेपछि स्थानीयवासी मर्कामा परेका छन्।

बर्दिया बबई नगरपालिकाको बलाती, कर्मला, डुर्मेनी, बर्गदा, ठाकुरद्वाराको शिवपुर हात्तीसार र सूर्यपटुवाको कैलासीलगायत निकुन्ज आसपासका विभिन्न गाउँमा जङ्गली हात्ती पसेर बर्सेनी सयौँ बिगाहामा लगाइएको धान, मकै, गहुँ र उखुबाली नोक्सान गर्न तथा घरगोठ भत्काउन थालेपछि स्थानीयवासी मर्कामा परेका हुन्।

यसरी जङ्गली हात्तीले वर्षेनी धनजनको ठूलो क्षति गरे पनि उनीहरुले भने राहत पाउन सकेका छैनन्।

बर्दिया राष्ट्रिय निकुञ्जबाट आएका जङ्गली हात्तीले दिनहुँ घरगोठ भत्काउने र खेतबारीको गहुँबाली नोक्सान गर्न थालेपछि बर्दिया बबई नगरपालिकाको कर्मला र बलाती गाउँबासी अहिले आक्रोशित भएका छन्।

जङ्गली हात्तीले बालीनालीमा नोक्सान पुर्‍याएपछि क्षतिपूर्तिस्वरुप राहत, हात्ती धपाउने सामग्रीसहित सुरक्षाकर्मीको व्यवस्था र ज्यानको सुरक्षालगायतका विभिन्न सात बुँदे माग राखी बबई नगरपालिकाको कर्मला र बलातीका पीडित कृषकले सोमबार निकुन्जमा ज्ञापनपत्रसमेत बुझाएका छन्।

दिनहुँ गाउँमा जङ्गली हात्ती पसेर घर भत्काउन थालेपछि गाउँबासी आफनो घर जोगाउन रातभर जाग्राम बस्ने गरेका छन्। हात्ती धपाउन निकुञ्जले वास्ता नगरेको स्थानीयवासीले गुनासो गरेका छन्।

जङ्गली हात्तीको आतङ्क कम गर्न र अन्नबालीमा भएको क्षतिस्वरुप राहत रकम वद्धि गर्न माथिल्लो निकायमा जानकारी गराइएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell