PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

पेस्की लिएको आठ महिनासम्म पनि पुल बन्न सकेन



पहिलोपोस्ट

जुम्ला : जिल्लाको कुडारी गाविसस्थित कुडारी–ताम्ती–टोप्ला जोड्ने पक्की पुल निर्माणका लागि रु ७० लाख पेस्की लिएको आठ महिनासम्म निर्माण कार्य सुरु भएको छैन।
 
रु तीन करोड ९६ लाख ८० हजारको लागतमा पुल निर्माणका लागि गत असार ९ गते काठमाडौँस्थित हिराचन अञ्जना जेभीँसँग सम्झौता भए पनि अहिलेसम्म काम सुरु नगरिएको जिल्ला प्राविधिक कार्यालयका सवइञ्जिनियर चूडामणि भट्टले बताए। जेभीले वर्षामा मनसुनी समस्या र हिउँदमा जाडो देखाएर काम हुन नसकेको उनको भनाइ छ।
 
सम्झौताको लगत्तै पेस्की लिए पनि हालसम्म काम नभएकाले दुईपटकसम्म सो कम्पनीलाई काम सुरु गर्न ताकेतासहित परिपत्र गरिएको स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासेले जानकारी दिए। 'भर्खरैमात्र जेभीका प्रमुख रवीन्द्र सिंहसँग फोन सम्पर्क गरेका छौँ, एक हप्ताभित्र काम सुरु गर्ने वचन दिएको छ, भनेको समयमा निर्माण कार्य अघि नबढाए कारबाही प्रक्रिया अघि बढ्छ', स्थानीय विकास अधिकारी बेल्बासेले भने।
 
'साउन भदौमा वर्षात् भयो, त्यसपछिका महिनामा बिग्रेको बाटोले साथ दिएन। मङ्सिरबाट चिसो बढेकाले काम गर्न नसकिएको हो।' जेभीका प्रमुख सिंहले भने– 'अबको हप्ता १० दिनभित्र आफैँ गएर काम सुरु गर्ने गर्नेछु।'
 
पेस्की लिएको आठ महिनासम्म पनि ठेकेदारले काम सुरु नगरेकाले स्थानीयवासीमा आशङ्का जागेको कुडारी गाविसका पूर्व अध्यक्ष चक्रबहादुर शाहीले बताए। पुल निर्माण भए ताम्ती गाविससँगै जाजरकोट जोड्न सहज हुन्छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell