काठमाडौँ : नेपाल राष्ट्र बैंकले वित्त बजारमा तरलता अभाव नरहेको स्पष्ट गरेको छ।
नेपाल बैंकर्स सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा केन्द्रीय बैंकले वित्त बजारमा लगानीयोग्य रकमको अभाव नरहेको बताएको हो।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले वित्त बजारमा रु ३० अर्ब लगानीयोग्य रकम रहेको बताए। 'ठूला विकास परियोजनामा लगानी गर्न पर्याप्त रकम नभएको होइन त्यसको उचित व्यवस्था हुन नसकेको हो,' उनले भने।
अधिकभन्दा अधिक निक्षेप आकर्षित गर्न बचत खातामा प्रदान गर्दै आएको ब्याजदर बढाउन आग्रह गर्दै उनले उत्पादकत्व बढाउने क्षेत्रमा लगानी गर्न बैंक तथा वित्तीय संस्था चनाखो हुनुपर्नेमा जोड दिए। केन्द्रीय बैंकले विकासका आयोजनाको काममा अवरोध हुन नदिन पुनर्कर्जाको व्यवस्थासमेत गरेको उनले जानकारी दिए।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले देशको आर्थिक विकासको संवाहक निजी क्षेत्रलाई कर्जा प्राप्तिमा कठिनाइ भएको गुनासो गर्दै बैंक तथा वित्तीय संस्थाले पर्याप्त कर्जा प्रवाह गर्न नसकेका बताए। जथाभावी ब्याजदर नबढाउन आग्रह गर्दै उनले नुन तेल बेचे जसरी बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न नसकिनेमा जोड दिए।
सङ्घका अध्यक्ष अनिलकेशरी शाहले निक्षेपकर्ताले बचत गरेको रकम उनीहरुलाई फिर्ता दिन बैंक तथा वित्तीय संस्थासँग पर्याप्त रकम भए पनि ठूला विकास आयोजनामा लगानी गर्न बैंकहरुसँग रकम अभाव रहेको बताए।रासस