
वेष्ट इन्डियन अलराउण्डर आन्द्रे रसेललाई कुनै पनि अन्तर्राष्टिय स्तरको प्रतियोगितामा सहभागि हुन नपाउने गरी एक वर्षको प्रतिवन्ध लागेको छ।
बारम्बार आग्रह गर्दा पनि डोपिङ परिक्षणमा असहयोग गरेको भन्दै इन्डेपेन्डेन्ट डोपिङ प्यानलले रसेललाई प्रतिवन्ध लगाउने घोषणा गरेको हो।
रसेलको प्रतिवन्ध २०१७ जनवरी ३१ देखि नै लागु हुनेछ भने २०१८ को जनवरी ३० सम्म कायम रहनेछ।
ह्युज फउकनर, डा मार्जोरी भासेल र डिजेथ पाल्मर सम्मिलित तीन सदस्यीय न्यायिक कमिटीले रसेललाई दोषी ठहर गरेको हो।
यस प्रतिवन्धसँगै रसेलले आगामी फेब्रुअरीमा हुने पाकिस्तान सुपर लिग र मार्चमा हुने इन्डियन प्रिमियर लिग आइपिएलमा खेल्न पाउने छैन।
२०१५ मा जनवरी १, जुलाई १ र जुलाई २५ मा गरी तीन पटक डोपिङ परिक्षणमा असहयोग गरेको आरोप रसेलमाथि लगाइएको छ।
२८ वर्षे रसेलले वेष्टइन्डिज बाहेक विभिन्न देशको टी २० लिगमा खेलिसकेका छन्। उनले आईपिएलमा दिल्ली डेयर डेभिल्स र कोलकोता नाइट राइडर्स, पाकिस्तान सुपर लिगमा इस्लामावाद युनाइटेड, क्यारेवियन प्रिमियर लिगमा जमैका तल्वाह, बिग ब्यास लिगमा सिड्नी थण्डर, बंगलादेश प्रिमियर लिगमा ढाका डाइनामाइटबाट खेलिसकेका छन्।
रसेलको प्रतिवन्धले तत्कालका लागि सबैभन्दा ठूलो असर आइपिएल टीम कोलकता नाइट राइडर्सलाई परेको छ।
रसेलको प्रतिवन्धसँग पाकिस्तानी सुपर लिग क्लब इस्लामावाद युनाइटेडले उनको स्थानमा स्टेभन फिनलाई राखिसकेको छ भने कोलकताले फेब्रुअरी ४ मा हुने अक्सनमार्फत नयाँ खेलाडी खोज्ने प्रयासमा छ।