
वैज्ञानिकहरुको एउटा अन्तर्राष्ट्रिय टोली वृद्धवृद्धाहरुको हेरचाह गर्ने रोबट बनाउमा जुटेको छ।
जापान र युरोपेली संघको २० लाख पाउण्ड लगानीमा बन्दै गरेको यो रोबट सांस्कृतिक तथा सम्वेदनशील हुने बताइएको छ।
यो रोबट तीन वर्षभित्र बन्नसक्ने अनुमान गरिएको छ।
यस योजनामा संलग्न विज्ञहरुका अनुसार रोबट प्रयोगमा आएपछि वृद्धवृद्धाहरुका लागि बनाइएका केयर सेन्टर, वासस्थान तथा आश्रममा निर्भरता घट्नेछ।
मान्छेजस्तै देखिने तथा मान्छेको जस्तै बानीव्यवहार गर्ने यी रोबटलाई पेप्पर रोबट नाम दिइँदैछ।
यस्ता रोबटले वृद्धवृद्धाहरुलाई औषधि, खाना तथा पानी दिनेलगायतका थुप्रै दैनिक क्रियाकलापमा मदत गर्ने छन्।
यी रोबटलाई सम्वेदनशील बनाउनको लागि ब्रिटेनको मिडलसेक्स युनिऐर्सिटी र बेडफोर्डसर युनिभर्सिटीका शोधविज्ञहरुले मदत गरिरहेका छन्।
यस योजनामा सहभागी प्रोफेसर आइरिना पैपेडोपुलस भन्छिन्, 'आज मान्छेहरुको सरदर अायु बढेको छ। जसको कारण स्वास्थ्यसित जोडिएका समस्या पनि बढेका छन्।'
उनी भन्छिन्, 'सिङ्गो ब्रिटेनमा १५००० मान्छे १०० वर्षभन्दा बढी उमेरका छन्। यो सङ्ख्या अझै बढ्ने देखिन्छ। यस्ता बुद्धिमान रोबट तयार भएपछि वृद्धवृद्धाहरुलाई हेरचाह गर्ने केयर होम र अस्पतालमा भार घट्नेछ।'
सफ्टबैक रोबोटिक्स नामक कम्पनीले यस्तो खाले पेप्पर रोबोट बनाइरहेको छ। यसलाई जापानमा हजारौँ घरमा प्रयोग गरी परीक्षण गरिएको छ।
योसित मिल्दा जुल्दा रोबटको सहायताबाट जापानका अस्पतालमा बिमारीको खाना उठाउने, खाना पस्किने आदि काम गरिएको थियो।
कम्पनीका मुख्य वैज्ञानिक अमित कुमार पाण्डेले भनेका छन्- 'कम्पनी एउटा यस्तो दुनियाँ बनाउन चाहन्छ, जहाँ मान्छे र रोबट दुवै एकैसाथ बस्न सकून्। साथै स्वस्थ, सुरक्षित र सुखी जीवन बिताउन सकून्।'
योजना सम्पन्न भएपछि रोबटलाई ब्रिटेनको एडभिनिया हेल्थकेयरको केयर होम्समा जाँच परीक्षण गरिनेछ।
कम्पनीका कार्यकारी प्रमुख डाक्टर सन्जिव कानोरिया भन्छन्- 'रोबट ती व्यक्तिलाई उपयोगी हुनेछ, जो घर तथा आश्रममा वृद्धवृद्धाहरुको हेरचाह गर्दछन्। वृद्धवृद्धालाई मदत गर्न तथा स्वास्थ्यको हेरचाह गर्नमा ठूलो सहयोग मिल्नेछ।'
(बिबीसी हिन्दीबाट)