काठमाडौं : आठौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा मोरङ र सुनसरी विजयी भएका छन्।
समूह ए को खेलमा लालान चौधरीको अलराउण्ड प्रदर्शनको मद्दतमा मोरङले बाँकेलाई ४८ रनले हरायो। पुल्चोकस्थित इजिनियरिङ मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मोरङले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८६ रन बनायो। मोरङका लागि मोनज रेले सर्बाधिक ४४ रन बनाए भने लालन चौधरीले ४०, मोहम्मद सविरले ३० रन बनाए।
जवाफमा १८७ रनको लक्ष्य पछ्याएको बाँके एक बल बाँकी छँदै १३८ रनमा अलआउट भयो। बाँकेका लागि पवन भट्टले सर्बाधिक ३५ रन बनाए। मोरङका लालन चौधरी एक्लैले ५ विकेट लिए।
जितपछि मोरङको २ अंक भएको छ। पहिलो खेलमा झापालाई हराएको बाँकेको पनि २ अंक छ। अब मोरङ र झापाबीचको खेलपछि समूह विजेता र उपविजेताको छिनोफानो हुनेछ।
यस्तै समूह बी को खेलमा सुनसरीले कास्कीलाई ६ विकेटले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको कास्की १७.२ ओभरमा ७८ रनमा अलआउट भयो। कास्कीका लागि रोसन गुरुङले २४ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहारो अंक छुन सकेनन्।
उसलाई सस्तैमा रोक्न सुनसरीका ज्ञान सुवेदीले ३ तथा विवेक चन्द्र राई र केशव न्यौपानले २/२ विकेट लिए।
जवाफमा ७९ रनको लक्ष्य सुनसरीले १०.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। सुनसरीको जितमा केशव न्यौपानेले ३१ रन बनाए।
पहिलो खेलमा काठमाडौंसँग पराजित भएको सुनसरीले जितपछि २ अंक जोडेको छ। अब समूहको अन्तिम खेलमा काठमाडौं र कास्कीबीचको खेलपछि समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ।
६ टोलीको सहभागी रहेको प्रतियोगितामा दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। फाइनल खेल आगामी शनिबार हुनेछ।