काठमाडौँ : अस्थायी शिक्षक आन्दोलन, केन्द्रीय समिति २०५५ ले आजदेखि केशरमहलस्थित नेपाल शिक्षक महासङ्घको कार्यालयअगाडि अनिश्चितकालीन रिले अनशन सुरु गरेको छ।
अस्थायी शिक्षकलाई प्रक्रिया पूरा गरी स्थायी गराउने माग सम्बोधनमा महासङ्घले चासो नदिएको भन्दै समितिले अनशन सुरु गरेको हो।
आजको अनशनमा समितिका महासचिव महादेव भट्ट र केन्द्रीय सदस्य दानबहादुर थापामगर सहभागी थिए। अनशन आरम्भ हुनुअघि समितिले महासङ्घका अध्यक्ष केशव निरौलालाई भेटी ध्यानाकर्षणपत्र बुझाएको र उनले राजनीतिक दल तथा सरकारका अधिकारीसँग अस्थायी शिक्षकका माग सम्बोधनका लागि पहल गर्ने आश्वासन दिएको समितिका केन्द्रीय सदस्य लक्ष्मीकुमार सत्यालले जानकारी दिए।
समितिले स्थायी हुँदा अस्थायीको सेवावधि गणना गर्न, अवकाशप्राप्त अस्थायी शिक्षकलाई स्थायी सरहको औषधोपचार र उपदान दिन तथा स्वेच्छिक अवकाश लिन चाहनेलाई स्थायी सरहको सुविधा दिन पनि माग गर्दै आएको छ।
हाल करिब २५ हजार अस्थायी सरकारी शिक्षक छन्।रासस