PahiloPost

May 2, 2025 | १९ बैशाख २०८२

निजामती कर्मचारी सङ्गठनले भ्रष्टाचार रोक्न अभियान थाल्ने



पहिलोपोस्ट

काठमाडौँ : नेपाल निजामती कर्मचारी सङ्गठनले कर्मचारीतन्त्रमा देखिएको भ्रष्टाचार रोक्न अभियान सञ्चालन गर्ने भएको छ।
 
पहिलो बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकारसम्मेलनमा सङ्गठनका अध्यक्ष केदारप्रसाद देवकोटाले सबै मन्त्रालय र विभागमा भ्रष्टाचार न्यूनीकरणका लागि अभियान सञ्चालन गर्ने जानकारी दिए।
 
'हाम्रो चाहना पनि भ्रष्टाचारको दलदलमा कर्मचारी नपरून् भन्ने हो,' उनले भने–'राष्ट्रसेवक कर्मचारीको काम ठगी होइन सेवा दिने हो। हामी सेवा दिन तयार छौँ।' उनले भ्रष्टाचारमा संलग्न कर्मचारीलाई निलम्बन गर्न आफ्नो सङ्गठन सहयोग गर्न तयार रहेको पनि बताए।
 
बैठकले सङ्घीय प्रणालीमा कर्मचारी व्यवस्थापन गर्दा रोजाइ तथा छनोटलाई प्राथमिकतामा राख्नुपर्ने, योग्यता पुगेका कर्मचारीलाई प्रदेशमा समायोजन गर्दा एक तह बढुवाको अवसर दिनुपर्ने र हरेक तहमा लोकसेवामार्फत स्थायी कर्मचारी राख्नुपर्ने लगायतका माग गरेको छ।
 
यसैगरी कार्यालय समयभित्र निजामती कर्मचारीलाई कुनै बैठक र कार्यक्रममा सहभागी हुन नदिने पनि निर्णय गरेको छ।
 
यसैबीच बैठकले दशौँ राष्ट्रिय अधिवेशनबाट निर्वाचित पदाधिकारीको जिम्मेवारी बाँडफाँडसमेत गरेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell