विहारको मुजफ्फरपुरमा बितेका दुई दशकमा अज्ञात रोगका कारण सयौँ बालबालिकाको मृत्यु भएको थियो। भारत र अमेरिकाका वैज्ञानिकहरुले उक्त रोगबारे खोजविन गर्दा नयाँ तथ्य पत्ता लगाएका छन्।
चमकीको नामबाट प्रख्यात यो रोग प्रत्येक वर्ष मे तथा जुनमा देखा पर्ने गर्दछ। यस रोगबाट हालसम्म थुप्रै बालबालिकाको मृत्यु भएको पाइएको छ।
सन् २०१४ मा ३९० बालबालिकालाई यही रोगले समातेपछि अस्पतालमा भर्ना गरिएको थियो। जसमध्ये १२२ बालबालिकाको मृत्यु भयो।
भारत र अमेरिकाका वैज्ञानिकहरुको संयुक्त प्रयासबाट खाली पेट बढी लिची खाएमा यो रोग लाग्ने कुरा पत्ता लगाएका हुन्।
करिब तीन वर्षसम्म चलेको यस अनुसन्धानको रिपोर्ट चर्चित विज्ञान पत्रिका लैन्सेट ग्लोबलमा छापिएको छ।
लिचीमा 'हाइपोग्लिसिन ए' र मिथाइलेन्साइक्लोप्रोपाइल्गिसिन' नामक जहरिलो तत्त्व हुने कुरा वैज्ञानिकले पत्ता लगाएका छन्।
अस्पतालमा भर्ना भएका धेरैजसो बच्चाको रगत तथा पिसाब परीक्षणबाट उनीहरुमा यी तत्त्व रहेको कुरा पत्ता लागेको हो।
धेरैजसो बालबालिकाले बेलुकीको खाना खाएका थिएनन् र बिहानको समयमा धेरै मात्रामा लिची खाएका थिए। यस्तो परिस्थितिमा यसको असर निकै घातक हुने गर्दछ।
बालबालिकामा कुपोषण र अन्य बिमारी हुने भएकाले पनि धेरै लिची खाएमा यो रोग हुने खतरा बढ्छ।
डाक्टरले बालबालिकालाई सीमित मात्रामा लिची खान र त्योभन्दा अघि सन्तुलित भोजन खान सल्लाह दिएका छन्। भारत सरकारले यसबारे एउटा निर्देशन पनि जारी गरेको छ।
मुजफ्फरपुर क्षेत्रमा लिची धेरै नै फल्ने गर्दछ। यहीँबाट लिची विश्वबजारमा पठाइन्छ।
यस रोगको सिकार भएका बालबालिकाका आमाबुवाले लिची फल्ने समयमा बालबालिकाहरु धेरैजसो समय लिचीकै बगैँचामा बिताउने कुरा बताएका छन् र यो सिजनमा उनीहरु आफ्नो सामान्य खानपिनसमेत बिर्सिन्छन्।