PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

​अख्तियारका प्रवक्ता भन्छन् : 'हाम्रो प्रभाव घटेको छैन भन्ने केही दिनमै देखाइदिन्छौ'



सविन ढकाल

​अख्तियारका प्रवक्ता भन्छन् : 'हाम्रो प्रभाव घटेको छैन भन्ने केही दिनमै देखाइदिन्छौ'

काठमाडौं : योग्यतासम्बन्धी विवाद किनारा लगाउँदै प्रमुख आयुक्तको पदबाट लोकमानसिंह कार्की हटेसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुस्त देखियो।
 
अदालतमा योग्यतासम्बन्धी मुद्दा चलेसँगै संसदमा उनीविरुद्ध पदीय दुरुपयोग गरेको भन्दै महाअभियोग दर्ता भएसँगै कार्कीसँगै संवैधानिक निकाय आयोगको विश्वसनीयतासमेत धरापमा पर्यो।

निमित्त प्रमुखको भरमा चलिरहेको आयोगले बुधबार कार्की कार्यकालकै आर्थिक वर्ष २०७२-७३ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आफ्नो प्रभावकारिता नघटेको र केही दिनमै त्यसको काम सार्वजनिक गर्ने धारणा सार्वजनिक गर्‍यो।
 
राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाइएको आयोगको वार्षिक प्रतिवेदनको मुख्य विषय सार्वजनिक गर्न आयोगमा आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता जीवराज कोइरालाले दाबी गरे' आयोगको प्रभावकारिता कम भएको छैन, आयोगमा काम भइरहेको छ, केही दिनमा नै  प्रभावकारिता देख्ने गरी काम बाहिर आउँछ।'
 
उनले के काम भइरहेको हो त्यो नखुलाए पनि सानासँगै ठूला माछासमेत आयोगको जालमा पर्ने दाबी गरे। प्रवक्ता कोइरालाले अख्तियारले सवैधानिक क्षेत्रमा रहेर काम गरिरहेको दाबी गर्न समेत छुटाएनन्।
 

गम्भीर अनुसन्धान प्रभावहीन, झिनामिसना ६० प्रतिशत सफल

बुधबार सार्वजनिक भएको प्रतिवेदनअनुसार विशेष अदालमा दायर भएका मुद्दामा ६० प्रतिशत आयोगको पक्षमा फैसला आएको देखिन्छ।
तर यसरी सफल भएका मुद्दाको प्रकृति गम्भीर भन्दा झिनामसिनाको संख्या बढी छ।

प्रतिवेदनअनुसार आयोगले ३ सय १० जना व्यक्तिलाई प्रतिवादी बनाएर १ सय ४४ बटा मुद्दा विषेशमा दायर गरेको थियो।
दायर भएको मुद्दामा झूठा शैक्षिक प्रमाणपत्रतर्फ ५२, घुस सम्बन्धी ४६ , सार्वजनिक सम्पति हानी नोक्सानी सम्बन्धी २२  र अन्य विषयमा २५ मुद्दा छन्।
 
गैरकानुनी सम्पत्ति आर्जन, गैर कानुनी लाभ लिएको, राजश्व चुहावटजस्ता गम्भीर र विषेश प्रकृतिका मुद्दामा भने आयोग सफल देखिएन।
 
आयोगका प्रवक्ता कोइरालाले आगामी दिनमा सफलताको प्रतिशत बढाएर  लैजाने तयारी भइरहेको दाबी गरे। जटिल प्रकृतिका मुद्दामा सफल हुन संगठनात्मक र संरचनात्मक काम भइरहेको उनले दाबी गरे।
 

२४ हजार उजुरी, १६ हजार फर्छ्यौट

बुधबार सार्वजनिक भएको प्रतिवेदनमा वर्षभरि परेका २४ हजार ६ सय ९१ वटा उजुरीमध्ये १६ हजार ६ सय ९४ वटा उजुरी फर्छ्यौट भएका छन्।
फर्छ्यौट भएकामध्ये १० हजार ६ सय ६ उजुरी प्रारम्भिक छानविनपछि तामेलीमा गएको छ। व्यक्तिगत रिसइवी, विरोध गर्न उजुरी हाल्ने भएकाले प्रमाण नपुग्ने गरेको कोइरालाले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell