PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

​कांग्रेस पदाधिकारी बैठक : स्ववियु निर्वाचनको उमेर हद विवाद एजेण्डा



पहिलोपोस्ट

​कांग्रेस पदाधिकारी बैठक : स्ववियु निर्वाचनको उमेर हद विवाद एजेण्डा

काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका विषयमा नेपाल विद्यार्थी संघमा देखिएको आन्तरिक विवादमा छलफल गर्न नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दैछ। संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा पार्टी पदाधिकारी, स्ववियु निर्वाचन समन्वय समिति र नेविसंघ पदाधिकारी सहभागी हुनेछन्। 

स्ववियु निर्वाचनमा उमेर हद मान्ने नमान्ने विषयमा नेविसंघमा विवाद छ। औपचारिक रुपमा संगठनले २८ बर्षे उमेरहद नमान्ने निर्णय केन्द्रीय कार्यसमितिबाट गरिसके पनि विवाद भने कायमै छ।

स्ववियु निर्वाचनमा उमेरहदको विषयमा संगठनमा देखिएको विवाद मिलाउन पदाधिकारी बैठक बस्न लागेको यो दोस्रो पटक हो। यसअघि बुधवार साँझ पनि विवादमा केन्द्रित रहेर पदाधिकारी बैठक बसेको थियो।

नेविसंघमा उमेर हद नमान्ने पक्षको नेतृत्व उपाध्यक्ष उर्मिला थपलियाले गरेकी छिन्। संगठनले औपचारिक रुपमा उमेर हद नमान्ने निर्णय गरेपनि अध्यक्ष नैनसिंह महर उमेरदहको पक्षमा छन्। तर, संगठनको औपचारिक निर्णय भने अहिलेसम्म सच्चिएको छैन।

उमेर हद निर्णयको विरोधमा नेविसंघले उपत्यकाका सबै क्याम्पसमा तालाबन्दी गरेको छ। तालाबन्दीका कारण स्ववियु निर्वाचनमा नेविसंघले अवरोध गरेको आरोप त्रिभुवन विश्वविद्यालयले लगाएपछि कांग्रेस पदाधिकारी भ्रातृ संगठनको विवाद सुल्झाउन छलफलमा जुटेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell