
लुइस सुवारेज र लियोनल मेसीको गोल मद्दतमा बार्सिलोनाले कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा एथ्लेटिको मड्रिडलाई २-१ ले पराजित गरेको छ।
एथ्लेटिकोको घरेलु मैदान स्टाडियो भिसेन्ट काल्डेरोनमा भएको खेलको सातौं मिनेटमा सुवारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। ३३ औं मिनेटमा मेसीले गोल गर्दै पहिलो हाफमै बार्सिलोनाको अग्रता दोब्बर पारे।
पहिलो हाफमै २ गोलले पछि परेको घरेलु टोली एथ्लेटिकोले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरे पनि १ गोल मात्र गर्न सक्यो। ५९ औं मिनेटमा एन्टोली ग्रिज्मनले एक गोल फर्काए पनि एथ्लेटिेकोका लागि हार टार्न पर्याप्त भएन।
यी दुईबीचको दोस्रो लेग आगामी फेब्रुअरी ८ मा बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा हुनेछ।
अर्को सेमिफाइनल अन्तर्गत सेल्टा भिगो र अलाभेजबीचको पहिलो लेगको खेल आज हुँदैछ।