PahiloPost

May 9, 2025 | २६ बैशाख २०८२

शेयर किन्न विपन्नलाई ऋणको चाँजो मिलाउँदै राष्ट्र बैंक



पहिलोपोस्ट

शेयर किन्न विपन्नलाई ऋणको चाँजो मिलाउँदै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले विपन्न परिवारलाई लगानीका रुपमा प्राथमिक शेयर खरिद गर्न सहयोग गर्ने भएको छ। शेयर खरिदका लागि ऋण उपलब्ध गराउने बैंक तथा वित्तीय संस्थाहरुको त्यो रकम विपन्न क्षेत्र कर्जा अन्तर्गत राख्न पाउनेछन्।
 
कुल ऋणको दुई प्रतिशत प्रत्यक्ष रुपमा आफैँले लगानी गर्नुपर्ने राष्ट्र बैंकको नीतिपछि बैंक तथा वित्तीय संस्थाहरुलाई सकस भएको थियो। अब शेयर किन्न दिने ऋण पनि विपन्न वर्गमा समेटिने भएपछि बैंकहरुलाई केही राहत मिल्ने भएको छ।
 
'बैंकहरुले गम्भीर रुपमा लिएर लगानी गर्ने योजना ल्याए भने हामी त्यस्तो ऋणलाई विपन्न वर्गमा गणना गर्न तयार छौं,' राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले भने, 'अहिले व्यवस्था छैन। तर बैंकहरुले लगानी गर्ने भएमा नीतिगत व्यवस्था गर्न सकिन्छ।'
 
राष्ट्र बैंक उच्च व्यवस्थापनबाट सार्वजनिक रुपमै विपन्न वर्ग कर्जाको परिभाषा फराकिलो पार्ने प्रस्ताव आएपछि बैंकरहरुले यसलाई सकारात्मक मानेका छन्।
 
'यसले हामीलाई निक्कै सहयोग पुग्छ,' सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले भने, 'विपन्न परिवारले पनि लगानीका लागि ऋण पाउँछन्।'
 
राष्ट्र बैंकले सबै संस्थाको शेयर किन्न भने यो व्यवस्था गर्न लागेको होइन। आरक्षित गरिएको शेयर पनि पैसा नभएकै कारण खरिद गर्न नपाएका विपन्नहरुका लागि मात्र यो व्यवस्था गर्न लागेको हो।
 
खासगरी जलविद्युत आयोजनाहरुले प्रभावित स्थानीय बसिन्दाका लागि छुट्याएको शेयर आर्थिक स्थिति कमजोर भएकै कारणले धेरैले लगानी गर्न सकेका छैनन्। त्यस्ता परिवारका लागि ऋणको व्यवस्था राष्ट्र बैंकले मिलाउन लागेको हो।
 
अहिले बैंकहरुले विपन्न वर्गमा प्रत्यक्ष रुपमा लगानी गर्नुपर्ने व्यवस्था छ। यो व्यवस्थापछि बैंकहरुले हरेक छलफलमा राष्ट्र बैंकसँग यसलाई हटाउन माग गर्दै आएका छन्। बैंकरबाट बारम्बार माग आएपछि राष्ट्र बैंकले कर्जा लगानीको क्षेत्रलाई फराकिलो पारेर सहज गरिदिन खोजेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell