
काठमाडौँ : कूल खसेको मत मध्ये निश्चित प्रतिशत ल्याउने दललाई मात्र मान्यता दिने गरी निर्वाचन विधेयकमा थ्रेसहोल्डको व्यवस्था गर्न लागेको विरोधमा साना दलले संसदमा आवाज उठाएका छन्।
सांसद रुक्मिनी चौधरीले शत प्रतिशत थ्रेसहोल्ड राख्न चुनौति दिएकी छिन्। उनले सोधिन्, 'संविधानको कुन धारामा उपधारामा थ्रेसहोल्डको व्यवस्था छ ? यसमा सरकारको जवाफ चाहियो ? साना दल ठूला दलका लागि घाडो हो भने किन ३ देखि ५ प्रतिशत ? थ्रेसहोल्ड राख्ने हो भने ७० देखि १०० प्रतिशतसम्म थ्रेसहोल्ड राख्न आँट गर्नुस्। सक्नुहुन्छ ?
नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापामगरले थ्रेसहोल्ड अस्थिरताको कारक नभएको भन्दै कारक खुलाए, 'नेपाल भारत खुला सीमा।'
महिन्द्र राय यादवले ठूला दलका हिसावमा नियम कानुन मात्र बनाउने हो भने यो संविधान जस्तै त्यो कानुनको हालत हुने चेतावनी दिँदै सबै दलसँग सहमति नगरी थ्रेसहोल्ड नराख्न सचेत गराए।
मीना पुनले सरकारले निर्वाचनको मिति घोषण गरेको खै भनेर प्रश्न गर्दै सरकार निर्वाचन मिति घोषणा गर्न सकरात्मक नभएको आरोप लगाइन्। राजनीतिक अस्थितरताको दोष साना दलमाथि लगाइएको तर, जिम्मेवारी ठूला दल र शासकहरुले पूरा नगरेको उनले बताइन्।