PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

प्रधानमन्त्रीले गरे २२० केभी विद्युत प्रसारण लाइनको उद्घाटन



पहिलोपोस्ट

प्रधानमन्त्रीले गरे २२० केभी विद्युत प्रसारण लाइनको उद्घाटन

दोलखा (खिम्ती) : खिम्ती-ढल्केबर २२० केभी विद्युत प्रसारण लाइनको उद्घाटन भएको छ। बिहीबार दोलखाको खिम्तिमा आयोजित औपचारिक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनको उद्घाटन गरेका हुन्।

प्रसारण लाइनको उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले विद्युतीकरण नै नेपालको विकासको प्रमुख आधारशीला भएको धारणा राख्दै यो आयोजना देश विकासको कोशेढुङ्गा सावित हुने बताए।

उनले भने, 'विद्युतीकरण नै नेपालको आर्थिक–सामाजिक विकास र राजनीतक स्थिरताको आधार हो।' भारतले किन्दैन कि भनेर विद्युत उत्पादनको गति रोक्ने अभियानमा कतिपय मान्छेहरु लागेकाले त्यस्तो भ्रमको पछि नलाग्नसमेत अनुरोध गरे।

विश्वको ध्यान अहिले पानीबाट विद्युत उत्पादन गर्नेतर्फ अघि बढेको भन्दै उनले क्लिन इनर्जी र ग्रीन इनर्जीको विकल्पमा जलविद्युत इनर्जीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। प्रधानमन्त्री प्रचण्डले अबदेखि जलविद्युत आयोजनाको सँगसँगै प्रसारण लाइन निर्माणको कामलाई पनि तीब्रता दिने योजना सरकारले बनाएको उल्लेख गरे।

नेपाललाई लोडसेडिङमुक्त गर्ने अभियानको नेतृत्व गर्ने ऊर्जामन्त्री, राज्यमन्त्री र प्राधिकरणका कार्यकारी निर्देशकलाई आफूले आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न पनि पछि नपर्ने प्रतिवद्धतासमेत व्यक्त गरे।

दोलखाको सहरे गाविसबाट सुरु भएको प्रसारण लाइन रामेछाप, सिन्धुली र महोत्तरीका विभिन्न गाविस हुँदै धनुषाको ढल्केबरमा रहेको सव स्टेसनमा जडान गरिएको छ। आयोजनाले पाँच जिल्लाका १६ गाविस र एक नगरपालिका प्रभावित भएका थिए। 

रु दुई अर्ब १३ करोड लागतमा निर्माण सम्पन्न भएको उक्त प्रसारण लाइन २०६३ सालबाट निर्माण सुरु भए पनि हाल आएर मात्रै सम्पन्न भएको हो।
 
दुई सय २० केभी क्षमताको उक्त प्रसारण लाइन नै नेपालको पहिलो प्रसारण लाइन हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell