PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

तनहुँमा बस दुर्घटना, एकको मृत्यु, २४ घाइते



रासस

दमौली : तनहुँको व्यास नगरपालिका–८ सिर्दी नजिकै आज एक यात्रुबाहक बस सडकमै पल्टिँदा एक जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।

घाइतेमध्ये छ जना गम्भीर छन्। दुर्घटनामा परी मृत्यु हुनेमा व्यास नगरपालिका–९ अधेरी भञ्ज्याङका ३४ वर्षीय हर्कसुर कामी रहेको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमेशराज जोशीले बताए।

दुर्घटनामा परी गम्भीर घाइते भएका कामीको उपचारका लागि दमौलीतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको र दुर्घटनामा परी गम्भीर घाइते हुने जामुने–१ बस्ने ३० वर्षीया चिजामाया थापालाई काठमाडौँको ग्रान्डी अस्पतालमा र जामुनेकै मनिषा थापा, लालमाया राना, सुकमाया श्रेष्ठ, मनपाङ–१ की अस्मिता श्रेष्ठ र जामुनकै सविता थापालाई पोखरास्थित क्षेत्रीय अस्पताल पठाइएको प्रहरी उपरीक्षक जोशीले जानकारी दिए।

पोखराबाट दमौली आउँदै गरेको ग १ ख ३२८८ नंको बस अनियन्त्रित भई पल्टेको थियो। अन्य सामान्य घाइतेको दमौलीको रत्नहरि,  व्यास सिटी,  नेसनल एपोलो र जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बस चालक मनपाङ–१ बस्ने भीमसेन नारायण श्रेष्ठसमेत सामान्य घाइते रहेको र उपचारपछि उनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जोशीले बताए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell