PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

आयोजक एपीएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन, प्रतिभा मोस्ट भ्यालुएबल प्लेअर



पहिलोपोस्ट

आयोजक एपीएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन, प्रतिभा मोस्ट भ्यालुएबल प्लेअर

काठमाडौं : आयोजक सशस्त्र प्रहरी बलको एपीएफलाई हराउँदै न्यु डायमण्ड एकेडेमीले चौथो सशस्त्र प्रहरी महानिरीक्षक राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

सशस्त्र प्रहरीको मुख्यालय हलचोकमा विहिबार भएको रोमाञ्चक फाइनलमा एपीएफलाई ३–२ को सेटमा पराजित गर्दै  नयु डायमण्डले उपाधि चुमेको हो।

अत्यन्त प्रतिस्पर्धात्मक खेलको पहिलो सेट घरेलु टोली एपीएफले २५–१५ ले जित्यो। पहिलो सेट गुमाएपनि न्युडायमण्डले दोस्रो र तेस्रो सेटमा पुनरामगन गर्यो।

न्यु डायमन्ड दोस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पार्दै १–१ को बराबरी गर्नसफल भयो। स्पाइकर प्रतिभा माली र डिफेन्सको उत्कृष्ट प्रदर्शनमा न्यु डायमन्ड तेश्रोे सेटमा पनि हावी भयो २५–१६ ले जित्दै एपीएफमाथि दबाब बढाउँदै खेल २–१ को अग्रता लियो।

एपीएफले पनि हार मानेन। उत्कृष्ट प्रदर्शन गर्दागर्दै पनि दुई सेट गुमाएको एपीएफले चौथो सेट २५–१६ ले आफ्नो पक्षमा पार्दै खेल २–२ को रोमाञ्चक स्थितिमा पुर्‌यायो।

पाँचौं तथा निर्णयक सेटमा न्यु डायमन्ड लयमा फर्कदै १५–१२ ले आफ्नो पक्षमा पार्दै ३ २ ले खेल जित्न सफल भयो। जितसँगै न्यु डायमण्डले समूह चरणमा बेहोरेको हारको बदला समेत लिन सफल भयो।

प्रतियोगिताको विजेता न्यु डायमन्ड एकेडेमीले २ लाख ५० हजार प्राप्त गर्‌यो भने उपविजेता एपीएफले १ लाख २५ हजार रुपैयाँमै चित्त बुझायो।

विहीबार नै भएको तेस्रो स्थानको खेलमा विभागीय टोली नेपाल पुलिसलाई ३–० को सोझो सेटमा पराजित गरेको पश्चिमाञ्चल भलिबल टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्‌यो। पुलिसविरुद्ध पश्चिमाञ्चल २५–२१, २५–२१ र २५–१७ को सेटमा विजयी भयो। तेस्रो स्थानका लागि भएको खेलको वुमन अफ द म्याच पश्चिमाञ्चलकी मञ्जु गुरुङ भइन्। 

खेलपछि च्याम्पियन न्यु डायमन्डका प्रशिक्षक कुमार राईले खेलाडीहरुले उच्च मनोबलका साथ खेलेकाले उपाधि जित्न सफल भएको बताए। ‘हाम्रा सबै खेलाडीले उत्कृष्ट खेल खेले। एपीएफको मुख्य हतियार स्पाइक र ब्लकलाई सफल हुन नदिदाँ न्यु डायमन्डले खेल जित्न सफल भयो’, प्रशिक्षक राईले भने।

एपीएफका प्रशिक्षक प्रकाश थपलियाले रिसिफ र डिफेन्स कमजोर भएका कारण खेल हार्नु परेको बताए। ‘मुख्य कमजोरी रिसिफ र डिफेन्समा भयो। काउन्डर अट्याकमा पनि हामी सफल हुन सकेनौं’ थपलियाले भने।
 
प्रतिभा मोस्ट भ्यालुएबल प्लेअर
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेकी न्युडायमन्ड एकेडेमीकी प्रतिभा माली 'मोस्ट भ्यालुएबल प्लेअर' घोषित भइन्। प्रतिभा फाइनल खेलको पनि 'वुमन अफ द म्याच' पनि चुनिन्। उनले यामाहा कम्पनीको एक थान स्कुटर प्राप्त गरिन्।

त्यस्तै विधागत उत्कृष्टमा न्यु डायमण्ड र एपीएफकै वर्चस्व रहयो।

उत्कृष्ट स्पाइकर एपीएफकी सरस्वती चौधरी, उत्कृष्ट ब्लकर एपीएफकी नेविका चौधरी र उत्कृष्ट सेटर एपीएफकै बिनिता बुढाथोकी घोषित भइन्।

न्यु डायमन्डका कृपा अधिकारी उत्कृष्ट सर्भर, सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्स चुनिए भने उत्कृष्ट कोच न्यु डायमन्डका कुमार राई घोषित भए।
विधागत उत्कृष्ट खेलाडीले नगद ५/५ हजार प्राप्त गरे।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell