PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

'आरन'मा राजन मुकारुङ र विप्लव ढकालका कविताको 'पाइन'



पहिलोपोस्ट

'आरन'मा राजन मुकारुङ र विप्लव ढकालका कविताको 'पाइन'

काठमाडौं : सधैं नाटक हेर्ने दर्शकले खचाखच हुने अनामनगरको मण्डला थिएटर बिहीबार दिउँसो पनि खचाखच नै थियो। तर, नाटकका लागि होइन कविता सुन्न।
 
काव्यप्रेमी दर्शक-स्रोताको आकर्षण थिए, वैचारिक-सांस्कृतिक लेखनमा स्थापित कविद्वय राजन मुकारुङ र विप्लव ढकाल।
 
'म खासै कविता लेख्ने मान्छे त होइन' भन्दै सुरुमै उभिएका मुकारुङले फटाफट सात वटा कविता सुनाए।

अमिलो मन नगर्नु प्रिये
मैले रातो गुलाब दिन नामञ्जुर गरेँ…
 
'यो साल' शीर्षकको प्रेम कविताबाट वाचन थालेका उनका अधिकांश कवितामा भुइँमान्छेका आवाज, निम्नवर्गीय समाजको चित्र, आधुनिकताको प्रभावमा हराउँदै गएको गाउँको बास्ना र पहिचानको स्वर मुखरित थियो।
 
'हाटा जाने अघिल्लो रात'मा उनले भोजपुरको नोस्टाल्जिया उतारे उनले। जहाँ आधुनिकताले ग्रामीण बजारमा पारेको प्रभाव र हाट भर्ने महिलाहरुको पीडा व्यक्त थियो। कमैया मुक्तिको घोषणा भएको १० वर्षपछि लेखेको '१० वर्षपछि', 'रातभर बाढी आउँदा', '८ मार्च र भानुभक्त', 'ह्वाइटहाउसमा सम्मानित हुँदा' लगायतका कविता उनले सुनाए। पुँजीवादी बजारबाट बिकाउ बनिरहेका महिलाको बाध्यतालाई भने उनले 'हटकेक नायिकाको कन्फेसन्स'मा अटाए।
 
'आख्यानकार भनिए पनि राजनजीको आधारभूत लेखन कविता नै हो। त्यही कवित्व आख्यानमा विस्तारित भएकाले उहाँका उपन्यास पनि लोकप्रिय भएका हुन्' भन्दै मुकारुङपछि उभिएका अर्का कवि ढकालले पर्यावरणसँग सम्बन्धित कविता 'भ्यागुताको बिहे'बाट आफ्नो वाचन सुरु गरे।
 
युवा जोसमा लेखेको र २०४८ सालमा छापिएको 'अज्ञात सहिद आएको छु' समेत सुनाएका उनले 'फुस्रा पात', 'पुर्खाको आत्मा', 'अन्तिम बेन्चबाट', 'चिसो पालमुनि' जस्ता कविता प्रस्तुत गरे।
 
'न्याउली रोयो निरमाया'मा वैदेशिक रोजगारका लागि विदेशिएका युवा र पर्खाइमा बसेकी उनकी पत्नीको बाध्यता, रेमिन्ट्यान्ससँगै समाजमा निम्त्यिएको विकृत पाटोलाई पनि उधिने। चुनावको बेला मात्र गाउँ पस्ने नेताहरुप्रति व्यंग्य गरिएको 'कोटको टाँक' कवितामा ढकालले आश्वासन र नेताका सपनाबाट पीडित नागरिकहरुको कथा सुनाए।   
 
टेक्नो-कल्चरको साङ्लोमा बाँधिएका युवा पुस्ताको चित्रलाई उनले 'सिलिकन सुन्दरी'मा देखाइदिए भने 'गाली' शीर्षकको कवितामा हरेक कुरालाई नकारात्मक तरिकाबाट सोच्नेहरुप्रति काव्यात्मक गाली नै गरिदिए।
 
सांस्कृतिक रुपान्तरणका लागि उन्मुक्त आन्दोलन अभियान अन्तर्गत 'आरनमा कविता' शृंखलामा दुई कवि उभिएका हुन्। कार्यक्रमलाई उन्मुक्त पुस्ताले आयोजना गरेको हो।
 
प्रायजसो कवितामा सुनिने 'वाहवाह र साइसाइ सुइसुइ' मण्डलाको हलमा भने सुनिएन। यसैले बुझ्न सकिन्थ्यो- गम्भीर र वैचारिक कविताको तौल निकै गह्रुँगो हुन्छ, जसले हात होइन मथिंगल हल्लाउँछ। यसैले त आरनमा बसेर दुई कविहरु कविताको हतियारमा 'पाइन' लगाइरहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell